
असार १५, २०८०
नेपालको केन्द्रिकृत राजनैतिक, प्रसाशनिक र वित्तिय प्रणालीलाई विकेन्द्रित र तल्लो तह सम्म विस्तार गर्ने उदेश्यले मुलुक संघियतामा गएपछि बहुआयमिक परिवर्तन देखिएको छ । साविक अञ्चल, विकास क्षेत्र र जिल्ला सदरमुकामहरु सुनसान बनेका छन्, भने ग्रामिण क्षेत्रमा बजार विस्तार हुदै गएको छ । विकास गाउँगाउँमा पुगेसँगै ठाउँठाउँमा बजार विस्तार हुदै गएको छ ।
जुम्लामा खलंगाको अलावा सातै पालिकाका टुक्रे बजारहरुमा जनघनत्व, चहलपहल र व्यापारिक गतिविधि बढ्दै गएको छ । यि बजारहरु कतै व्यवस्थित छन्, कतै अव्यवस्थित । जुम्लाको पातारासीको लासी बजार, तातोपानी लिताकोट, तिलाको डुण्डेली सेरी, हिमाको कालिकाखेतु, सिंजाको नराकोट, गुठिचौरको धलमुडि, कनकासुन्दरीको गुठिज्युला लगाएतका बजार संघीयतापछि थप विस्तार हुदै गएका हुन् ।
जुम्लाका स्थानीय तहहरु पालिका केन्द्र र टुक्रेबजार व्यवथ्पानलाई जोड दिदैछन् । यतिबेला जुम्लाको सिंजा गाउँपालिकाको नराकोट बजार चिटिक्क परेको छ । सिंजा गाउँपालिकाको केन्द्र समेत रहेको नराकोट बजार क्षेत्रको १ सय ५४ घनमिटर सडक पिसिसि आरसिसि गरिएपछि टिटिक्क देखिएको छ । केहि महिना अघि सम्म घर, पसल तथा होटलबाट बग्ने पानीले बजार फोहोर तथा हिलो भइरहन्थ्यो । आवत जावत गर्न समेत असहज हुने गथ्र्यौ । अहिले बजार क्षेत्र आरसिसि बनाएपछि बजार व्यवस्थित बनेको छ ।
संघीय सरकारको ५ करोड बजेटमा धितालिहिबाट नराकोट बजार सम्म सडक ग्राबेल बनाउने, होमपाइप हाल्ने, बजार क्षेत्रमा आरसिसि सडक बनाउने काम करिव ९० प्रतिशत सम्पन्न भएको रोयल रस्मी कन्ट्रक्सन प्रा.ली.का प्रोप्राइटर रतन बहादुर शाहीले बताए । सिञ्जा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालको विशेष पहलमा संघीय बजेटले सडक स्तरउन्नतीको काम भइरहेको शाहीले नयाँ कर्णालीलाई जानकारी दिएका छन् ।
धितालिहिबाट नराकोट सम्मको सडक स्तरउन्नती गर्ने क्रममा भैंसीगौडाको १० मिटर कठिन भिर छिचोलेर काम गरिएको शाहिले जानकारी दिएका छन् । अव होम पाइप बिछ्याउन र ग्राबेल गरिएको ठाउँमा रोलर पेल्न बाँकी रहेको समेत उनले जानकारी दिएका छन् ।