जुम्लाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कनकासुन्दरी गाउँपालिका स्थित हाडसिजा नजिकै रहेको ‘मेरे’ पाटन यतिबेला हरियाली र प्राकृतिक सौन्दर्यले ढकमक्क बनेको छ। अग्ला–अग्ला डाँडाकाँडा, पहाडका टाकुरा र बादलसँग मितेरी गाँसेको यो पाटन अहिले स्थानीय भेडापालक तथा कृषकहरूको प्रमुख थलो बनेको छ।
हाडसिजा गाउँका बासिन्दाहरू आफ्ना भेडा, बाख्रा, गाई तथा वस्तुभाउ लिएर चरिचरणका लागि यही मेरे पाटनतिर उक्लिने गर्दछन्। दिनभर हरियो घाँसे मैदानमा वस्तुभाउ चराउने र डाँडाकाँडाको चिसो हावापानीसँगै समय बिताउने उनीहरूको दैनिकी निकै रोमाञ्चक देखिन्छ।
अग्ला डाँडाकाँडा र मनोरम वातावरण
मेरे पाटनको मुख्य विशेषता भनेकै यहाँबाट देखिने विशाल पहाड र अग्ला डाँडाहरू हुन्। चारैतिर घेरेका अग्ला पहाडी टाकुराहरूमा मडारिने बादलको दृश्यले जोकसैको मन लोभ्याउँछ। वर्षायामको आगमनसँगै डाँडाहरू हरियालीले ढाकिएका छन् भने हिमाली स्वच्छ वातावरणले पाटनको सुन्दरतामा अझ निखार ल्याएको छ।
पशुपालन र मौलिक जीवनशैलीको सङ्गम
स्थानीयका अनुसार वर्षायाम सुरु भएदेखि नै हाडसिजाका अधिकांश बासिन्दा वस्तुभाउ लिएर पाटनतिर उक्लिन्छन्। डाँडाकाँडामा भेडा–बाख्रा चराउँदै गरेका गोठालाहरू र उनीहरूको सादगीपूर्ण जीवनशैलीले यहाँको जनजीवनलाई जीवन्त बनाएको छ। भौगोलिक विकटता भए पनि यहाँको प्राकृतिक सौन्दर्य र गोठालाहरूको श्रमले मेरे पाटनलाई एउटा अनुपम गन्तव्यको रूपमा चिनाएको छ।
पर्याप्त पर्यटकीय सम्भावना बोकेको मेरे पाटन प्रचार-प्रसार र आवश्यक पूर्वाधारको पर्खाइमा छ। यदि यस ठाउँको सही प्रचार हुन सकेमा कनकासुन्दरी र समग्र जुम्लाको आन्तरिक पर्यटन प्रवर्द्धनमा मेरे पाटनले ठूलो योगदान पुर्याउन सक्ने स्थानीयहरूको विश्वास छ।
