नेपाली लोक संगीत क्षेत्रका लोकप्रिय गायक तथा संगीतकार खेम सेन्चुरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
प्रतिष्ठानको हालै सम्पन्न महाधिवेशन तथा निर्वाचन प्रक्रियाबाट सेन्चुरीले भारी मतका साथ उपाध्यक्ष पदमा जित हासिल गर्नुभएको हो। लोक गीत संगीतको प्रवर्द्धन कलाकारहरूको हकहित र मौलिक संस्कृतिको जगेर्नामा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका सेन्चुरीको यो जितलाई लोक संगीत क्षेत्रले निकै उत्साहका साथ लिएको छ।
विजयी भएपछि खुसी व्यक्त गर्दै गायक सेन्चुरीले आफूलाई अमूल्य मत दिएर जिताउने सम्पूर्ण अग्रज समकालीन कलाकार प्रतिनिधि तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले आगामी कार्यकालमा लोक दोहोरी क्षेत्रको विकास कलाकारको हित र नेपाली मौलिक संस्कृतिलाई अझ उच्च स्थानमा पुर्याउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ।
दर्जनौँ चर्चित तथा सुपरहिट लोक दोहोरी गीतहरूमा स्वर र संगीत दिइसक्नुभएका सेन्चुरी नेपाली सांगीतिक आकाशका एक स्थापित र सफल सर्जक हुनुहुन्छ। उहाँ उपाध्यक्षमा निर्वाचित भएसँगै प्रतिष्ठानले नयाँ उचाइ लिनेमा संगीतकर्मीहरूले विश्वास व्यक्त गरेका छन्।
