आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ।
जिल्ला खेलकुद विकास समिति जुम्लाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको कर्णाली प्रदेश सभाका उपसभामुख यशोदा न्यौपानेले एक समारोहका बीच उद्घाटन गर्नु भयो।
उद्घाटन समारोहमा बोल्दै उपसभामुख न्यौपानेले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशकै गौरवको विषय भएको बताउनुभयो। उहाँले प्रतियोगितामा जुम्लाका तर्फबाट उत्कृष्ट र प्रतिभावान खेलाडीहरू छनोट भएर प्रदेश तथा राष्ट्रिय स्तरमा जिल्लाको नाम उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।
कर्णाली प्रदेशका विभिन्न स्थानमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि जुम्लाबाट सहभागी हुने टोलीको निर्माणका लागि यो छनोट प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा जिल्लाका विभिन्न खेल विधाका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि खेलकुद प्रेमी संघ संस्थाका प्रतिनिधि सुरक्षा निकायका प्रमुख तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
