जुम्लामा सरकारी गाडीको दुरुपयोग: प्राइभेट नम्बर प्लेट राखेर चलाइएको मोटरसाइकल नियन्त्रणमा

जुम्लामा सरकारी मोटरसाइकलमा रातो रङको प्राइभेट नम्बर प्लेट राखेर दुरुपयोग गरिएको भेटिएको छ। सार्वजनिक बिदाको दिन गरिएको विशेष चेकिङका क्रममा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले उक्त शङ्कास्पद मोटरसाइकललाई नियन्त्रणमा लिएको हो।

​जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी जवान रबिन्द्र राज प्याकुरेलको नेतृत्वमा खटिएको चेकिङ टोलीले बिदाको दिन सवारीसाधन जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमाथि शङ्का लागेर रोकेको थियो। जाँचका क्रममा मोटरसाइकलको बाहिरी भागमा प्राइभेट नम्बर प्लेट (लु ३४ प ५३६०) राखेर सरकारी स्वरूपलाई लुकाउन खोजिएको पाइएको छ।

​प्रहरीका अनुसार चालकले मोटरसाइकल कुन सरकारी कार्यालय वा स्थानीय तहको हो भन्ने बारेमा कुनै पनि जानकारी खुलाउन मानेका छैनन् भने यससम्बन्धी कुनै पनि कागजात वा स्रोत समेत पेस गर्न सकेका छैनन्। सरकारी साधनको यसरी नियमविपरीत दुरुपयोग भएको र सवारीसाधनको वास्तविक पहिचान समेत लुकाउन खोजिएको पाइएपछि ट्राफिक प्रहरीले उक्त मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस