
कर्णाली कै प्रसिद्ध मन्दिर चन्दननाथ भैरवनाथको छेउमा रहेको चन्दननाथ मिनि मार्केटमा पुगेकि छन्, जुम्लाकोट कि सेतु थापा । जुम्लाकै दुर्गम जुम्लाकोटबाट खलंगा पुग्दा निकै थाकेको भावमा देखिन्छ, उनको मुहार । तर पनि कुम्लोबाट सिस्नो निकाल्न हतारिएको छ उनको मन् । परिवारको खर्च र आम्दानी बिच सन्तुलन मिलाउन सिस्नो संकलनमा जुटेपछि बेलाबेला मिनि मार्केट सम्म पुग्छिन्, उनि । आज पनि नदग बुझ्न आतुर छन्, उनका हातहरु । उनले बनपाखा र खेतका आलीमा पाईने सिस्नु सुकाएर प्रतिकिलो ४ सय रुपैँयामा बेच्दै आएकि छन् । यसबाट हुने आम्दानीले घर खर्च चल्छ । ‘पहिले सिस्नो विक्रि हुन्छ भन्ने थाहै थिएन, छिमेकिले बेचेको सुनेपछि पोहोर सालबाट बेच्न थालेँ, अरु आम्दानीको स्रोत छैन, सिस्नो टिप्न सुरु गरेपछि घरायसी खर्च जुटाउन सहज भएको छ ।’ उनले भनिन्, ।
पहिले गरीबको खाना भनेर गिज्याइने फापर, सिस्नो देखि स्याउ, सिमि, मार्सी चामल, चिनो, कागुनो, भटमास्, आलु सहकारीकले किनिदिन्छ । जुम्ली किसानको उत्पादनलाई नगद बनाइदिने थलो हो, चनदननाथ मिनि मार्केट । मिनि मार्केटले किसानका बारीमा उत्पादन हुने मार्सी चामल, भटमास, सिमि, चिनो, कागुनो, फापर, स्याउ तथा स्याउका परिकार, दाँते ओखर, काष्ठ कलाकृति, जुम्बो देखि जडिबुटि मिश्रित चिया खरिद बिक्रि गरिरहेको छ । गाउँबस्तीका किसान र बजारका उपभोक्तालाई जोडेको छ, चन्दननाथ मिनि मार्केटले । पहिले किसानका उत्पादन बेच्न खोज्दा व्यापारी भेट्न मुस्किल पथ्र्यो । अहिले सबैखाले उत्पादन विक्रिमा सहज भएको पातारासी ६ बाँता गाउँकी मागि महताराले बताइन । ‘हामी कुनैपनि विषादी प्रयोग गर्दैनौं, स्वच्छ र ताजा उत्पादन सहजै विक्रि हुन्छन्, पहिले डोकोमा बोकेर व्यापारी खोज्नुपथ्र्यो, पैदल हिंडेर बजार सम्म पुग्नुपथ्र्यो, अहिले गाउँगाउँमा सडक बनेपछि सजिलो भएको छ ।’ उनले सुनाईन्।

चन्दननाथ सहकारी द्धारा सञ्चालित यो मिनि मार्केटमा कतिपय किसान आफ्नो कमाई बचत पनि गर्छन । सहकारीमा २५ हजार सदस्य छन्, मिनि मार्केटमा ३ सय किसानले बचत गरिरहेका छन् । मिनि मार्केटमा जुम्लाका आठै स्थानीय तहका किसानले आफ्ना उत्पादित कृषि उपज बेच्दै आएका छन् । तर ३ सय जनाले मिनिमार्केटमा बचत गरिरहेको व्यवश्थापक राजु बोहोराले जानकारी दिए । मिनि मार्केटको शाखा सुर्खेतमा समेत सापना गरिएको छ । चालु आर्थिक वर्षमा सुर्खेत शाखामा किसानबाट २० लाख बराबरको खरिद र २४ लाख बराबरको अर्गानिक कृषि उपज विक्रि भएको सुर्खेत शाखाले जनाएको छ ।

हिमाली क्षेत्र जुम्ला अर्गानिक कृषि उत्पादनका दृष्टिले प्रसिद्ध छ । सिमि, मार्सी चामल, आलु र स्याउ, ओखर जस्ता फलफूल जुम्लाका पहिचान हुन्, । पहिले बजारीकरणको अभावले बारीमै कुहिएर खेर जाने कृषि उपज अहिले सहकारीले धमाधम खरिद गर्नथालेपछि किसानलाई राहत भएको हो । यता हिमालयन बहुउदेश्यीय सहकारीले गाउँबस्तीमै पुगेर आलु खरिद गर्छ । आलुको लागि प्रसिद्ध पातारासी गाउँपालिकाबाट खरिद गरि सुदुर पश्चिम, मद्यपश्चिम का जिल्लाहरुमा निर्यात हुन्छ । हरेक वर्ष हिमालयन बहुउदेश्यीय सहकारीले पातारासीबाट खुम जातको सेतो आलु गरिद गरेर जिल्ला बाहिरका आलु जोन, कृषि विकास कार्यालयमा बेच्दै आएको बजार व्यवश्थापक राजेन्द्र बुढाले बताए ।
जुम्ला पुग्ने पर्यटक र आगन्तुक पाहुनाले यहाँबाट चिनोका रुपमा अर्गानिक सिमि, मार्सी चामल, चिनो, कागुनोको चामल, खरायोको टोपी, मह, सिस्नो र जडिबुटिको चिया लिने प्रचलन विकास भएको छ । कृषि उपज विक्रि हुनथालेपछि किसान उत्पादनमा जोडिदै गएका छन् । साथै जडिबुटि मिश्रित चिया समेत विक्रि हुन थालेपछि आम्दानीको स्रोत समेत बढेको छ । जुम्लाका होटलहरुमा समेत अर्गानिक परिकारहरु विक्रि हुन थालेको छ । यसले पनि किसानका उत्पादन विक्रिमा टेवा पुगेको छ ।