शिक्षा विकासको मेरुदण्ड हो भने विद्यालय दक्ष जनशक्तिहरु उत्पादनको आधार तयार गर्ने कारखाना । कुनै पनि राष्ट्रको उन्नति शिक्षाको गुणस्तरमा निर्भर हुन्छ । आजको विज्ञान तथा प्रविधिको युगमा दुनियाँ वास्तविकतामा प्रवेश गरिसक्यो हामी अझै मोडेल निर्माणको चरणमा छौं।
अझैपनि नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरु गुणस्तरीय शिक्षँको पहुँचमा छैनन् । शरिर छ, आत्मा छैन, भनेझै विद्यालयहरु प्रशस्त छन् तर पढाउने विषयगत शिक्षक छैनन्, त्यसमा पनि गणित र विज्ञान विषय शिक्षक । पटक पटक शिक्षा क्षेत्रमा विभिन्न परिवर्तन तथा सुधार गर्ने प्रयास गरिएतापनि नेपालको दुर्गम क्षेत्रका विद्यालयमा विज्ञान/गणित विषय शिक्षकको अभाव गम्भीर समस्या बनेको छ ।
अधिकांश दुर्गम जिल्ला तथा गाउँपालिकामा प्रस्तावित माध्यमिक विद्यालय सञ्चालनमा रहेका छन् । माध्यमिक तहसम्म सञ्चालन भएका विद्यालयहरुमा शिक्षक दरबन्दीको अभाव त छ नै, तर पनि दरबन्दी भएको विद्यालयमा समेत पटक पटक विज्ञापन गर्दा पनि विज्ञान/गणित शिक्षक नपाउदा दरबन्दी रिक्त नै रहेको पाइन्छ । धेरैजसो विद्यालयमा एउटै शिक्षकले धेरै विषय पढाउनुपर्ने अवस्था छ, परिणाम स्वरुप विद्यार्थीहरुको शैक्षिक स्तर कमाजोर रहन्छ साथै विज्ञान तथा प्रविधि जस्ता क्षेत्रमा उनीहरुको रुचि घट्दै जान्छ ।सुगमका विद्यालयहरुमा विद्यार्थी भर्ना समेत प्रवेश परीक्षाद्वारा विद्यार्थी भर्ना गरिन्छ, तर दुर्गममा शिक्षक समेत खोजी खोजी टिपेर लिनुपर्ने अवस्था छ, तर पनि भेटिदैनन् । अनि कसरी हुन्छ गुणस्तरमा समानता ।
विषयगत शिक्षक अभावकै कारण विद्यार्थीको सिकाइमा समस्या आई दुुर्गम विद्यालयका विद्यार्थीहरुको लागि एस इ इ पार गर्नु साउनको भेल तर्नु जस्तै भएको छ । पूरा एक शैक्षिक सत्र भरी विद्यार्थीले विषयगत ज्ञान हासिल गर्न पाएको अवस्था छैन ।
जसका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने, अन्वेषण तथा अनुसन्धानात्मक कार्यमा भाग लिन सक्ने विद्यार्थी बनाउनु त धेरै टाढाको कुरा सामान्य पाठ्यपुस्तकको ज्ञान समेत दिन धौधौ छ । बाच्न त धौधौ, मोटाउन खोज्दो भनेझै, भएको छ दुर्गमका विद्यार्थीको सिकाइ ।दुर्गम क्षेत्रका विद्यालय, फ्रान्सको लाइटहाउस जस्तै भए । सरकारले स्वीकृत स्थायी दरबन्दीमा दुर्गम भत्ता व्यवस्था गरे पनि विज्ञानरगणित शिक्षक आउन मान्दैनन् । स्वीकृत स्थायी दरबन्दी बाहेक अन्य राहत तथा शिक्षण सिकाइ अनुदानमा दुर्गम भत्ताको व्यवस्था नहुनु, आवासको व्यवस्था नहुनु, यातायातको असुविधा, भौगोलिक विकटता इत्यादी ले शिक्षकहरुको उपलब्धतामा समस्या थपेको छ ।
शहरको तुलनामा दुर्गम क्षेत्रका विद्यालयमा पढाउने शिक्षकलाई कठिनाई धेरै र प्रोत्साहन कम भएकाले पनि योग्य शिक्षक शहरतिर आकर्षित भएको पाइन्छ । शिक्षण पेशाप्रति अन्य पेशाझै आकर्षित नहुनु, देशको दक्ष जनशक्ति विदेशिने दर बढ्नु, स्थायी शिक्षक समेत जागिर छोडी विदेशिनु, विश्वविद्यालयहरुमा समेत विद्यार्थी संख्या घट्दै जानु जस्ता घटनाले आगामी केही दशक विज्ञानरगणित मात्र नभइ अन्य विषयका शिक्षक समेत टर्च बालेर खोज्नुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।
नेपाल सरकारले पनि विद्यालय खोल्न, तहथप गर्न अनुमती दिने तर आवश्यक शिक्षक दरबन्दीको व्यवस्थापनमा ध्यान नदिनु पनि प्रमुख समस्याको रुपमा रहेको छ । एक आपसमा समन्वय, सहकार्य तथा सहअस्तित्वको भावना विपरित तीन तहका सरकारको कदमका कारणले पनि शिक्षँ क्षेत्रमा कानूनी उल्झनहरु देखा परेको पाइन्छ ।
केही स्थानीय तहहरुले विद्यालयमा विषयगत शिक्षक अभाव पूर्ति गर्ने उद्देश्यले अनुकुल कार्यविधि बनाई विज्ञान ,गणित लगायत अन्य विषय शिक्षक भर्ना गरेपनि कानूनी उल्झनका कारणले हटाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारणले पनि बालबालिका पढ्न पाउने अवसरबाट बञ्चित रहेका छन् ।
माथिका यावत समस्या समाधानका लागि संघ,प्रदेश र स्थानीय सरकार शिक्षाप्रति गम्भीर हुदै एकआपसमा समन्वय तथा सहकार्य गर्न आवशयक देखिन्छ । प्रत्येक स्थानीय तहमा स्वयंसेवक शिक्षकको व्यवस्था, दुर्गम क्षेत्रका सबै प्रकारका शिक्षकलाई सम्मान तथा विशेष सुविधा र प्रोत्साहन, स्थानीय तहले पनि स्थानीय स्तरमै विज्ञान/गणित शिक्षक उत्पादनमा प्रोत्साहन कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ ।शिक्षण पेशालाई आकर्षणको केन्द्र बनाउने, पछिल्ला पुस्ताले समेत शिक्षण पेशालाई पहिलो रोजाइमा पार्ने अवस्था सिर्जना गर्ने उद्देश्यका साथ देश, समय र परिस्थिति सुहाउदो अग्रगामी शिक्षा ऐन सरकारले तत्काल जारी गर्नुपर्छ । आफ्ना बालवालिकाको भविष्यप्रति चिन्तित हुदै सम्बन्धित क्षेत्रमा पहलका लागि अभिभावकहरुले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।
हुन त देशको समग्र शैक्षिक अवस्था सुधार गर्न, चाडै शिक्षा ऐन जारी गर भन्दा नमान्ने नेपाल सरकार र आफ्ना बालवालिकाको पढाइ बुझ्न विद्यालय आउनुहोस् भन्दा पनि कहिल्यै नआउने हाम्रा अभिभावक उस्ताउस्तै लाग्न थाल्यो, आजभोलि ।
अन्त्यमा देशको समग्र पक्षको विकासको लागि दुर्गम क्षेत्रका विद्यालयहरुमा योग्य शिक्षकको उपस्थिति अनिवार्य छ । विज्ञानरगणित जस्ता आधारभूत विषय बिना देश अन्वेषण तथा अनुसन्धानमा अगाडी बढ्न सक्दैन । मुलुकको बृहत्तर हितको लागि शिक्षँलाई सुगम देखि दुर्गम सम्म समान रुपले फैलाउन ठोस पहल गर्न जरुरी छ ।
