जुम्ला बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्लाको आयोजनामा “प्रथम स्ववियु कप” खुला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता २०८३ वैशाख ९ गतेदेखि क्याम्पस परिसरमा सञ्चालन गरिनेछ।
प्रतियोगितामा जुम्ला जिल्लाका आठवटै पालिकाका ६० वडाबाट टिमहरूले सहभागिता जनाउन सक्नेछन्। प्रत्येक टिममा ९ जना खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागिताका लागि प्रति टिम १० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।
प्रतियोगितामा जिल्लाभित्र कार्यरत सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरूले पनि सहभागिता जनाउन पाउनेछन्। तर जिल्ला बाहिरका खेलाडीलाई सहभागितामा समावेश गरिने छैन।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
स्ववियु जुम्लाका सभापति लोकेन्द्र बुढाका अनुसार प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै युवाहरूबीच आपसी सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
