फोहोर र अतिक्रमणविरुद्ध चन्दननाथमा युवाको ध्यानाकर्षण

फोहोर र अतिक्रमणविरुद्ध चन्दननाथमा युवाको ध्यानाकर्षण

चन्दननाथ नगरपालिकाभित्र बढ्दो फोहोर व्यवस्थापनको अव्यवस्था, सार्वजनिक सडक अतिक्रमण, अवैध नदीजन्य पदार्थ उत्खनन, बजार अनुगमनको कमजोरी तथा सरसफाइको बजेट पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै जुगाड खोला सरसफाइ अभियान जुम्लाले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नगरभित्र वातावरणीय प्रदूषण तीव्र बन्दै गएको, सडक तथा बजार क्षेत्र अव्यवस्थित भएको र सार्वजनिक हितविपरीत गतिविधि बढेको आरोप लगाइएको छ।

अभियानले बजार क्षेत्रमा पसल अगाडि सामान राखेर सडक अतिक्रमण गर्ने प्रवृत्ति बढेको, निर्माण सामग्री जथाभावी थुपारिँदा दुर्घटनाको जोखिम बढेको तथा ठूलो मालवाहक सवारी अनियन्त्रित रूपमा बजार क्षेत्रमा सञ्चालन हुँदा नागरिक असुरक्षित बनेको जनाएको छ।
ध्यानाकर्षण पत्रमा नदी, खोला तथा नालाबाट अवैध रूपमा बालुवा, गिटी र ढुंगा उत्खनन भइरहेको उल्लेख गर्दै यसले नदी कटान, बाढी जोखिम र प्राकृतिक विपत्तिको खतरा बढाएको चेतावनी दिइएको छ। साथै, बिना अनुमति सञ्चालित क्रसर उद्योगले वातावरणीय मापदण्ड उल्लंघन गरिरहेको आरोप पनि लगाइएको छ।
अभियानले वैज्ञानिक डम्पिङ साइट स्थापना, स्रोतमै फोहोर वर्गीकरण, सार्वजनिक सडक अतिक्रमण हटाउने, अवैध उत्खनन रोक्ने, बजार अनुगमन प्रभावकारी बनाउने तथा सरसफाइ शीर्षकमा खर्च भएको बजेट सार्वजनिक गर्न माग गरेको छ।
त्यस्तै, “सरसफाइ” का नाममा हुने भ्रष्टाचार, अनियमितता र बजेट दुरुपयोगमाथि तत्काल छानबिन गर्न समेत माग गरिएको छ।
अभियानले मागहरू तत्काल कार्यान्वयन नभए चरणबद्ध आन्दोलन, जनदबाब कार्यक्रम र सम्बन्धित निकायमा कानुनी पहल अघि बढाइने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस