युवा अमर विष्टद्वारा भेरिखाेलाकाे सर्मीमा १ सय ३४ विद्यार्थीलाई पाेशाक वितरण

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित जनता सेवक आधारभूत विद्यालय मा अध्ययनरत १ सय ३४ जना विद्यार्थीलाई निशुल्क विद्यालय पोशाक वितरण गरिएको छ। आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिकालाई लक्षित गर्दै आयोजित उक्त सामाजिक कार्यक्रममा समाजसेवी युवा अमर विष्ट को आर्थिक सहयोग रहेको थियो। दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले पोशाक वितरण गरिएको आयोजकले जनाएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी अमर विष्टकी आमा रुपकली विष्ट ले विद्यार्थीहरूलाई पोशाक वितरण गर्दै शिक्षा जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो माध्यम भएकाले मेहनतका साथ अध्ययन गर्न आग्रह गरिन्। उनले अभाव र कठिनाइका बीच पनि पढाइलाई निरन्तरता दिन सके उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताइन्। “गरिबीले पढाइ रोक्नु हुँदैन, शिक्षाले नै समाज परिवर्तन गर्छ,” भन्दै उनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरणा दिइन्।
कार्यक्रमको समन्वय पत्रकार मान बहादुर कुँवर र विजय रावत ले गरेका थिए। उनीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रका बालबालिकालाई सहयोग गर्नुपर्ने भावना अनुसार कार्यक्रम आयोजना गरिएको बताए। स्थानीय तह, समाजसेवी तथा विभिन्न व्यक्तिहरूले सहकार्य गरे ग्रामीण क्षेत्रमा अझ प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्न सकिने उनीहरूको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक काली बहादुर शाही ले समाजसेवी अमर विष्ट र पत्रकारहरूको टोलीप्रति विशेष आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको बताए। उनले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी आर्थिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री र पोशाकबाट वञ्चित हुने गरेको उल्लेख गर्दै यस सहयोगले अभिभावकलाई समेत राहत पुगेको बताए। “विद्यार्थीको अनुहारमा देखिएको खुशी नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर कुँवर ले अभिभावकलाई आफ्ना छोराछोरीको नियमित निगरानी र हेरचाह गर्न आग्रह गरे। उनले बालबालिकालाई विद्यालय नियमित पठाउने, पढाइप्रति चासो दिने तथा खराब संगतबाट जोगाउने जिम्मेवारी अभिभावककै हुने बताए। विद्यालय, अभिभावक र समाजबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने उनको भनाइ थियो।
पोशाक पाएपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। अभिभावकहरूले पनि आर्थिक अभावका बीच गरिएको सहयोगले ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा स्थानीयवासी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले दुर्गम क्षेत्रमा शिक्षा क्षेत्रमा भइरहेका यस्ता सकारात्मक अभियानले समाजमा राम्रो सन्देश प्रवाह गरेको बताएका छन्। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस