बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला जुम्ला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विशेष पहलमा ग्यास वितरण गरिएको छ। क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति लोकेन्द्र बुढाको विशेष सक्रियतामा सदरमुकाम क्षेत्रमा देखा परेको ग्यास सङ्कटबाट प्रभावित विद्यार्थीहरूलाई सहज रूपमा ग्यास उपलब्ध गराइएको हो।
विशेष गरी जिल्ला बाहिरबाट आएर जुम्लामा उच्च शिक्षा हासिल गरिरहेका र जिल्लाभित्रै भए पनि सदरमुकामभन्दा टाढाका दुर्गम गाउँबाट डेरा गरी बस्दै आएका विद्यार्थीहरूलाई प्राथमिकतमा राखिएको छ। लामो समयदेखि बजारमा ग्यास नपाउँदा उनीहरूको पढाइका साथै दैनिक खानपिनमा समेत गम्भीर असर परिरहेको थियो।
स्ववियु सभापति लोकेन्द्र बुढाका अनुसार क्याम्पसमा अध्ययनरत विपन्न र दूरदराजका विद्यार्थीहरूलाई खाना पकाउनै समस्या भएपछि स्थानीय प्रशासन तथा ग्यास विक्रेताहरूसँग समन्वय गरी यो व्यवस्था मिलाइएको हो। घरबाट टाढा बसेर पढ्ने विद्यार्थीहरूलाई ग्यास अभावले सबैभन्दा बढी मर्कामा पारेको थियो,बुढाले भने उनीहरूको समस्यालाई मध्यनजर गर्दै प्राथमिकताका आधारमा ग्यास वितरण गर्ने वातावरण बनाएका हौँ।
ग्यास पाएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले ठूलो राहत महसुस गरेका छन्। बजारमा घण्टौँ लाइन बस्दा पनि ग्यास नपाएर सास्ती खेपिरहेका बेला आफ्नै क्याम्पसको पहलमा ग्यास पाएपछि उनीहरूले खुसी व्यक्त गरे।
ग्यास अभावका कारण विद्यार्थीहरू बिहान बेलुका खाना पकाउन छाडेर ग्यासको खोजीमा धाउनुपर्ने बाध्यता अन्त्य भएको र यसले अध्ययनमा नियमितता ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ। स्ववियु नेतृत्वले आगामी दिनमा पनि विद्यार्थीका यस्ता व्यावहारिक समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ।
