जुम्लाकाे तिला ९ काे ज्याेति ध्यमिक विद्यालय मा जेठ ८ गते बेलुका करिब ८ बजे आएको भीषण हावाहुरीले ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपत्तिका कारण विद्यालय भवन, कक्षाकोठा तथा विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली पूर्णरूपमा ध्वस्त भएको विद्यालय प्रशासनले जनाएको छ।
अचानक आएको हावाहुरीले विद्यालयको छाना उडाएको, काठका संरचना भत्काएको तथा पठनपाठनका सामग्रीहरू नष्ट गरेको छ। वर्षौंदेखिको मेहनत र आशाले निर्माण गरिएको शैक्षिक संरचना केही क्षणमै भग्नावशेषमा परिणत भएपछि सम्पूर्ण गाउँ शोकमा डुबेको छ। विद्यालय परिसर अहिले विद्यार्थीहरूको हाँसोभन्दा बढी पीडाको सन्नाटाले भरिएको स्थानीयवासीले बताएका छन्।
विद्यालयमा जडान गरिएको सौर्य ऊर्जा प्रणाली पूर्णरूपमा नष्ट भएकाले विद्यालय अन्धकारमय अवस्थामा पुगेको छ। यसका कारण नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको विद्यालयले जनाएको छ। दुर्गम क्षेत्र तथा कमजोर आर्थिक अवस्थाका कारण विद्यालय पुनःस्थापना गर्न चुनौती थपिएको छ।
यस विपत्तिले केवल भौतिक संरचना मात्र नभई सयौँ विद्यार्थीका सपना, अभिभावकको आशा तथा गाउँको शैक्षिक भविष्यलाई समेत गहिरो चोट पुर्याएको शिक्षक हरि बहादुर थापाकाे भनाइ छ।
विद्यालय व्यवस्थापन समितिले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय सरकार, शिक्षा विकास तथा समन्वय इकाई, विभिन्न संघ–संस्था, समाजसेवी, शिक्षाप्रेमी तथा देश–विदेशमा रहेका सहयोगी नेपालीहरूलाई विद्यालय पुनर्निर्माण, छाना व्यवस्थापन, फर्निचर तथा सौर्य ऊर्जा प्रणाली पुनःस्थापनाका लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ।
विद्यालयले “विद्यालय ढल्नु भनेको केवल भवन ढल्नु होइन, भोलिको उज्यालो भविष्यमा आँधी चल्नु हो” भन्दै यस कठिन घडीमा सहयोग, सहानुभूति र ऐक्यबद्धताको अपेक्षा गरेको प्रधानाध्यापक माेतिराम बुढाले बताए।
