तिला गाउँपालिकाको बजेट ५० करोड ५१ लाख, शिक्षा स्वास्थ्यलाई प्राथमिकता

तिला गाउँपालिकाको बजेट ५० करोड ५१ लाख, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

जुम्लाको तिला गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० करोड ५१ लाख ७१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार आयोजित गाउँपालिकाको १८औँ अधिवेशनमा उपाध्यक्ष गोरिकला बुढाले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३४ करोड ८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।
बजेट सार्वजनिक गर्दै उपाध्यक्ष बुढाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग, वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखिएको बताइन्। साथै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण र प्रविधिमा आधारित सेवा प्रवाहलाई पनि विशेष महत्व दिइएको उनले जानकारी दिइन्।
उनका अनुसार विद्यालयको शैक्षिक अवस्था सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि उत्पादन वृद्धि र स्थानीय पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनका कामलाई समेत निरन्तरता दिइनेछ।
गाउँपालिकाले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले प्रविधिमैत्री सेवा प्रणालीलाई थप विस्तार गर्ने योजना बनाएको छ। सडक, खानेपानी तथा अन्य पूर्वाधार विकासका योजनालाई पनि बजेटले समेटेको छ।
स्थानीय आवश्यकता र विकासका प्राथमिकतालाई ध्यानमा राखेर बजेट तयार गरिएको गाउँपालिकाले जनाएको छ। आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनसँगै विकास निर्माणका कामले गति लिने र नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस