हिउँदमै हिउँ छैन, काला पत्थर बन्दै हिमाल

हिउँ बिनाका हिमाल

हिउँ आयो पुस, बुढाबुढी रुस
हिउँ आयो माघ, बुढाबुढी भाग
यि रमाइला टुक्का जुम्लामा जनजनको जिब्रोमा झुण्डिएका छन् । हिमपात सँग जोडिएका रमाइला वाक्य जब हिउँपर्न थाल्छ, बालवालिका देखि युवायुवतिले रमाउदै अभिव्यक्त गर्छन । वृद्ध वृद्धालाई जोडेर पुस र माघ महिनामा हिउँ पर्नासाथ गाउँघरमा यिनै रमाइला टुक्का द्धारा हिउँलाई स्वागत गर्ने गरिन्छ । हिमपात हुने मुख्य सिजन भनेकै पुस र माघ महिना हुन् । त्यसैले यि टुक्कामा यि दुई महिनाको नाम जोडिएको छ । तर केहि वर्षयता कमै हिमपात भइरहेको छ । यो वर्ष समेत पुस दोस्रो सातासम्म हिँउ परेको छैन ।
हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाडा रुखा र सुख्खा देखिन थालेका छन् भने हिमालहरु कालापत्थरमा परिणत भएका छन् । हिमालको शोभा घटेको छ । पहिले चाँदी झैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिन थालेका छन् । सामान्यतया चिसो मौसममा हिमपात हुन्छ । पुस र माघ महिनामा हिउँपर्ने बढि हिमपात हुन्छ । विगतको जस्तो पुस, माघमा हिउँ नपर्नु, पानी नपर्नु, असोज कार्तिकमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयहरु बताउन्छन् । पहिले बाक्लो हिउँ पथ्र्यो, बन जँगल हिउँले थुनिएपछि गाउँबस्तीमै जंगली जनावर पुग्थे ।
तातोपानी गाउँपालिका ७ सर्मीका ८० वर्षीय करे कुँवर जलवायु परिवर्तनको असरका साँची हुन् । ‘विगतमा मान्छे डुबाउने हिउँ पथ्र्यो, बालीनाली पनि सप्रन्थ्यो । यतिबेला सम्म त बापाखा र खेतबारी हिउँले सेताम्य हुन्थे । बन जँगल हिउँले थुनिएपछि मृगहरु आहाराको खोजी गर्ने क्रममा गाउँमा समृेत पुग्थे, अहिले त हिउँ नै पर्न छाड्यो, परेपनि अलिअलि मात्रै पर्छ ।’ उनले भने । हिमपात पछि पशुबस्तु चराउन मात्रै सकस हुन्थ्यो वातावरणीय हिसाबले र अन्नबालीका लागि निकै राम्रो हुन्थ्यो । उनकानुसार खोला नालामा पानीको बहाब घट्दै गएको छ, भने पानी मुलहरु सुक्दै गएका छन् ।
१२ वर्षको उमेरबाट ट्रेकिङ गाईड गर्दै आएका पातारासी गाउँपालिका ७ पठमाराका सीप बुढा हिमालमा हिउँ नभएका कारण हिमालहरुको सौन्दर्यता हराउँदै गएको बताउन्छन् । जलवायु परिवर्तनको असरले हिमालहरुको प्राकृतिक सौन्दर्यता गुम्ने चिन्ता हुन थालेको उनले बताए । हिमालै हिमालको देशमा हिमपातमा व्यापक बदलाव हुनु पर्यटनका लागि दुर्भाग्यको कुरा भएको उनले बताए । १५÷२० वर्ष पहिला जस्तो हिउँ बाक्लो हिउँ पर्न छाडेको उनले बताए ।
बाह्रै महिना सेताम्मे हुने हिमालमा समेत हिउँ छैन । जुम्लाका पातारासी हिमाल, भुरिचुला, चिमारा मालिका, डाँफेलेक,जस्ता क्षेत्रमा समेत हिउँ देखिन्न । चन्दननाथ १० का नरेन्द्र भण्डारीले भने, ‘भर्खरै हामी जुम्लाको चिमारा मालिकाको चुचुरो पुगेर फर्कियौं, त्यहाँबाट जुम्ला र आसपासका हिमालको दृश्यावलोकन गर्न सकिन्छ, पहिले जस्तो हिमालमा हिउँ छैन । हिमाल काला देखिन्छन् ।’ अन्नबाली सहित जडिबुटी उत्पादनमा समेत असर हुने उनले बताए । वैशाख देखि असार पहिलो साता सम्म यार्सागुम्बा संंकलन गरि जिविका चलाउने स्थानीयलाई हिउँ नपर्दा चिन्ता बढेको छ । प्रर्याप्त हिउँ नपरे यार्सा समेत कम पाईने स्थानीय हरु बताउन्छन् ।
जुम्लामा लगाईएका हिउँदेबाली सुक्न थालेको भन्दै किसान चिन्तित भएका छन् । हिउँदेबालीका लागि सिँचाई नभएको ठाउँमा हिउँको विकल्प नभएको किसान मन्नु खड्काले बताइन । स्याउ र ओखरका लागि समेत हिउँ अत्यावश्यक रहेको स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए । ‘हिमपात नहुँदा स्याउलाई चिलिङ (माइनस तापक्रममा माटोमा पानीको मात्रा) पुग्दैन । जाडो मौसममा स्याउ विरुवा १ हजार घण्टा सुसुप्त अवथमा पुग्नुपर्छ, हिमपात नहुँदा पछि फूल तथा दाना झर्ने समस्या हुन्छ । उत्पादनमा गिरावट आउने खतरा हुन्छ ।’ स्याउ सुपरजोनका प्रमुख शाहीले भने ।
हिमालय क्षेत्रका जलवायु परिवर्तनको असरका बारेमा गम्भिर हुनुपर्ने बेला आएको उनले बताए ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस