
कप्तान लियोनल मेस्सीको नायकी प्रदर्शनको मद्दतमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कप फुटबलको फाइनल प्रवेश गरेको छ । आज बिहीबार बिहान भएको सेमिफाइनल खेलमा मियामीले बलियो टोली ओर्लान्डो सिटीलाई ३-१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
मियामीले पहिला गोल खाएर पछि परेको अवस्थामा ओर्लान्डो सिटी १० खेलाडीमा डाउन भएपछि मियामीले रोमाञ्चक कमब्याक गरेको थियो । स्मरण रहोस्, यही ओर्लान्डो सिटीसँग मियामीले यस सिजन घरेलु लिगका दुई खेलमा ७-१ ले हारेको थियो ।
तर आज लिग्स कपको सेमिफाइनलमा मियामीले सो टिमसँग मिठो बदला लिन सफल भयो। कप्तान मेस्सी चोटिल अवस्थामै मैदान उत्रिंदा उनले कठिन समयमा टिमका लागि २ गोल गरेर निर्णायक भूमिका निभाए । मेस्सीले नै टिम पछि परेका बेला बराबरी गोल गरेका थिए भने लिड गोल पनि उनी आफैंले गरेका थिए।
पाहुना टोली ओर्लान्डो सिटीका लागि पहिलो हाफको इन्जुरी समयमा मार्को पासालिचले रकेट गोल गरेर मियामीलाई उसकै घरमा झट्का दिएका थिए । तर दोस्रो हाफमा कहानी बदलियो ।
७५ औं मिनेटमा ओर्लान्डो सिटीका खेलाडी डेभिड ब्रेकालो दोहोरो पहेंलोका साथ रातो कार्ड खाँदै मैदान छाडे । उनले बक्सभित्र खराब फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएर मैदानबाट निकाले भने मियामीलाई पेनाल्टी दिए । सोही पेनाल्टीमा मेस्सीले गोल गरेर टिमलाई खेलमा फर्काए ।