
जुम्लाकाे सिंजा गाउँपालिका वडा नम्वर ६ का बस्ती जाेड्ने सडक धमाधम स्तरउन्नति भइरहेकाे छ। सडक का लागि छुट्टै बजेट नै नछुटाएपनि पालिकाकाे डाेजरबाट सडक स्तरउन्नति भइरहेकाे छ। सिंजा गाउँपालिकाकाे धितालिहिबाट भाडगाउँ सम्मकाे १४ किलाेमिटर सडक गाउँपालिकाकाे डाेजरबाट स्तरउन्नति भइरहेकाे सिंजा गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष लाल बहादुर बुढाले बताए । सडकका लागि बजेट छैन, तर सिंजा गाउँपालिकाकाे इन्धन र डाेजर प्रयाेग गरि सडक स्तरउन्नति भइरहेकाे उनले जानकारी दिए।
यसाे गर्दा लागत कम लाग्ने र विकासमा मितव्ययीता देखिने अध्यक्ष बुढाले बताए । पालिका भित्रका सडक निर्माण र स्तरउन्नतिका लागि सिंजा गाउँपालिकाले डाेजर, राेलर र ट्याक्टर खरिद गरेकाे छ। जसबाट क्रमश पालिकाभरका सडक निर्माण र स्तरउन्नति हुने छन्।
यसरी बनेकाे थियाे, मितव्ययी विकासकाे खाका
२०७९ सालकाे निर्वाचन पछि ६ वटा वडा भएकाे सिंजामा पहिलाे बजेट विनियोजनका बेला सिंजा ५ र ६ नम्वर वडाले पालिकामा नयाँ र दुरगामी प्रस्ताव गरे। सिंजा ६ का वडा अध्यक्ष लाल बहादुर बुढाका अनुसार सिंजा ५ र ६ नम्बर वडाका भागमा समान ४०/४० लाख बजेट परेकाे थियाे।
साे बजेटबाट सिंजा गाउँपालिकाकाे दुर्गम क्षेत्रमा सडक स्तरउन्नति र नयाँ सडक निर्माणका लागि याे बजेट अपर्याप्त थियाे। यहि परिवेशमा नयाँ जुक्ति पलायाे। दुई वडाकाे संयुक्त (८० लाख) बजेटबाट डाेजर खरिद गरेर सडककाे उचित व्यवस्थापन गर्ने भनेर । तर ८० लाखले मात्रै डाेजर खरिद गर्न मुस्किल पर्याे। अनि पालिकालाई डाेजर खरिदका लागि प्रस्ताव भयाे।
सिंजाका अध्यक्ष पुर्ण धितालले हाँकिरहेकाे पालिका टिमलाई डाेजर खरिद गरेर पालिका भित्रका सडक खन्ने, स्तरउन्नति गर्ने प्रस्ताव उचित ठान्याे। अनि १ कराेड २० लाखमा डाेजर खरिद भयाे। साथै ट्याक्टर र राेलर पनि खरिद भयाे। तर सिजाकाे दुर्गम क्षेत्र ५ र ६ नम्वर वडा भित्रकाे सडक सबैभन्दा पहिले स्तरउन्नति हुनु पर्छ भन्ने जाेड छ, सिंजा ६ का अध्यक्ष लाल बहादुर बुढाले भने।
अहिले सिंजा ५ र ६ जाेड्ने बाटाे स्तरउन्नति भइरहेकाे छ। आगामी आर्थिक वर्षभित्र सडक ग्राभेल गरिसक्ने लक्ष्य राखिएकाे वडा अध्यक्ष बुढाले बताए ।