
भाद्र १९, २०८०
जुम्ला खलंगाबाट १ घण्टा मोटर यात्रा पछि ४५ मिनेट पैदलयात्रा गर्नु पर्छ, पातारासीको शङ्कर झरना पुग्न । जँवा नदिको किनार पछ्याउदै जाँदा बाटोमा ठुला, ठुला फाँट भेटिन्छन् । बाटो छेउछाउका रङ्गिचङ्गी फूलका बोट स्वागतका लागि उभिए झैं लाग्छ । जब पश्चिमको बतास साँझको मन्द किरणमा फूलका बोटलाई छोएर जान्छ, तब सुन्दर चौरमा थरिथरिका पुष्प बास्ना फैलिन्छ । सुन्दर र शान्त प्राकृतिक फूलको बगैंचा हेर्दा आँखाले झिम्किन बिर्सन्छन् !
‘उर्लेको जँवा नदि किनारै किनार यात्रा गर्दा आँखाले बडो सर्तकतापूर्वक हरिया डाँडा पाखा, सुसाउने खोलानाला, बस्तुभाउ गाइगोठ इत्यादी लक्षित ठाउँको दृश्य अलोकन गर्दा जो कोहि शुन्यतामा हराउँछ, शङ्कर झरना पुग्ने बाटोमा भेटिने यिनै सुन्दर चिजले थकाईको महुसुस हुन दिदैनन् ।’ पर्यटन व्यवसायि सिप बुढाले सुनाए । साउन भदौमा यो झरनाको गति र आकार बढेर अझ आर्कषक बनेको उनले बताए ।
यतिबेला जुम्ला पातारासीको शङ्कर झरना आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । १ वर्ष पहिले सम्म गुमनाम झरना सामाजिक सञ्जालले एकाएक चर्चामा आएपछि आन्तरिक पर्यटक बढेका छन् । पातारासी २ पेरेको छडा पहाडको स्वरुपलाई झरनाले सुन्दर बनाएको छ । यहि सुन्दरतामा रमाउन दिनहुँ आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ ।
पातारासी २ पेरेमा पर्ने छडा पहाडको शङ्कर झरना विगतमा प्रचारप्रसारमा नआउँदा यहाँ भेडिगोठाला, शिकारी र जडिबुटी संकलकका अलावा कोहि पुग्दैनथे । २०४५ सालमा राजा विरेन्द यो ठाउँमा शिकार खेल्न पुगेको बाहेक घुम्नकै लागि पर्यटक गएको इतिहास छैन । अहिले भने दिनहुँ घुम्नेहरुको लर्को लाग्ने गरेको पातारासी २ पेरेका बिर्ख नेपालीले जानकारी दिए । उनि भन्छन्, ‘समयले हरेक चिजलाई मुल्यवान बन्ने अवशर दिन्छ रे, अहिले शङ्कर झरना अनमोल बनेको छ, पहिले गुमनाम झरना हेर्न अहिले आन्तरिक पर्यटक लोभिएका छन् ।’
क्षितिज पारी आकाश छोहुला झैं गरेको पातारासी हिमाल, अनि विशाल चट्टानको बिचबाट कणकण भएर झर्ने शङ्कर झरनाको दृश्य लोभलाग्दो देखिन्छ । यहि झरना हुदै पातारासी हिमाल, देवस्थल, बालिगाड ताल र पाटन पुग्न सकिने पेरे गाउँका बद्रि सार्किले बताए ।
पातारासीमा शङ्कर झरना हेर्न जाँदा विश्वमै अग्लो ठाउँमा धान फल्ने छुमचौर ज्युलो समेत अवलोकन गर्न सकिन्छ । भ्mरना सम्म पुग्न उकालो ओरालो नभएपनि बाटो भने व्यवस्थित छैन । पातारासी हिमालको बेस क्याम्प सम्म बाटो निर्माण र हिमाल आरोहणका लागि सरकारबाट आरोहण अनुमति लिन सकिए पर्यटनको प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायि सिप बुढाले बताए ।
ग्रामिण पर्यटनलाई फराकिलो बनाउन सके मात्रै पातारासीका नागरिकको जीवनस्तर उकास्न सकिने पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया रोकायाले बताइन । पातारासीका प्रमुख पर्यटकीय स्थल पातारासी हिमाल, छुमचौर, ज्युलो, बालिगाड ताल, शङ्कर झरना र देवस्थल मा पर्यटक आकृषित गर्न पालिकामा छलफलको विषय बनाइने उनले बताइन । नागरिकको जीवनस्तर उकास्न स्थानीय तहहरुले ग्रामिण पर्यटनलाई फराकिलो बनाउन आवश्यक छ ।