
१९ साउन, २०८०
जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई गरेको छ । जिल्लाका आठ पालिका मध्यको एक तिला गाउँपालिकाले बिहिवार पालिकाका स्थानीय र सरोकारवालको बिचमा आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । सार्वजनिक सुनुवाईमा आर्थिक वर्ष २०७९÷०८० को आय व्यय, प्रगति र उपलब्धीका विषय प्रस्तुत गरिएको छ ।
तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले प्रस्तुत गरेको प्रगति विवरण अनुसार तिलामा आर्थिक वर्ष २०७९÷०८० भित्र चालु तर्फको कुल बजेट मध्य ८७ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ । यस्तै पुँजिगत तर्फ ५६ दशमलव २८ प्रतिशत बजेट खर्च भएको छ । समग्रमा पालिकाले कुल बजेट ५९ करोड ८७ लाख २० हजार मध्ये ४३ करोड ९८ लाख ७९ हजार ८ सय ८४ रुपैंया अर्थात ७३ दशमलव ४७ प्रतिशत खर्च गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टले जानकारी दिएका छन् ।
‘कुल बजेटमा प्रदेशको झण्डै ६० लाख र संघको डेढ करोड रकम खर्च हुन नसकि फ्रीज गएको छ, २ करोड ४४ लाख १५ हजार बजेट अल्यामा राखिएको छ, भौगोलिक कठिनाई, समयमै योजना सम्झौता नहुनु, नागरिक जागरुकताको कमि जस्ता कारणले खर्च हुन सकेन ।’ निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले भने । गत आर्थिक वर्षमा १८ लाख रुपैंया आन्तरिक राजस्व संकलन भएको छ ।
तिला गाउँपालिकामा २०७९÷०८० भित्र संघीय विशेष अनुदान र समपुरक अनुदान कुल बजेट ८ करोड २० लाख मध्य ४ करोड २१ लाख ४३ हजार अर्थात ५२ दशमलव ५४ प्रतिशत बजेट खर्च भएको छ । उक्त बजेटबाट गाउँपालिकाको भवन, तलिचौर देखि लासी सम्म तटबन्धन, घोडा ज्युला देखि गाडापारी सिंचाई कुलो निर्माण र नुवाकोट सोलार लिफ्ट एरिगेश बनेको छ । साथै मानेचौर मा.वि.,सरस्वती मा.वि, सेतिबाडा मा. वि., ज्योति मा.वि., देउराली मा.वि. र देवी देउराली आ.वि.को पक्कि भवन टेण्डर मार्फत निर्माण भइ सञ्चालनमा आएको तिलाका योजना शाखा प्रमुख धिरेन्द्र विक्रम थापाले बताएका छन् ।
यस्तै प्रदेश सरकारको विशेष समपुरक अनुदान तर्फ कुल बजेट २ करोड २१ लख २५ हजार मध्य ७८ लाख ६७ हजार अर्थात ३५ दशमलव ५५ प्रतिशत खर्च भएको छ । सो बजेटबाट घोडेसिम खानेपानी आयोजना निर्माण, लाटिका थान देखि लर्मी गाउँ सम्म सडक निर्माण, कुडारी बजार देखि डुङ्ग्र्रि गाउँ सम्म सकड स्तरउन्नती र रास देखि नदै गुफा सम्म सडक निर्माण भएको प्राविधिक शाखाका असिस्टेन सव इन्जिनियर जित बहादुर सिंहले बताएका छन् ।
गाउँपालिका र एलआईएसपि संगको साझेदारीमा हितानबाडा देखी दोच्चाटापु सम्म वृक्षारोपण, नुवाकोटको खानेपानी ट्यांकि तथा धारो निर्माण, रारा हुदै घोडे जाने ग्रामिण सडक निर्माण र गाडगुडेनी देखि रारा गाँउ सम्म सडक निर्माण भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयहरुले असारे विकासको प्रवृत्ति अन्त्य गर्न सुझाव दिएका छ । पालिकाबासीले काममा ढिलासुस्ती हटाउन, पारदर्शिता कायम राख्न, सेवा प्रवाहलाई परिणाममुखी र सेवाग्राही मैत्री बनाउन सुझाव दिएका छन् । ‘जब सम्म असारे विकास प्रवृत्तिको रोग हट्दैन, तव सम्म पालिकाले गति लिन सक्दैन ।’ तिला १ का स्थानीय बुद्धिमल रावतले भने । यस्तै स्थानीय धन बहादुर हमालले जुम्लामा भयावह भएको लम्पी स्किन रोग नियन्तणमा तिला गाउँपालिकाले चासो दिनुपर्ने बताएका छन् ।
तिला गाउँपालिकाको विकास र समृद्धिका लागि विधिको शासन कार्यान्वयन, समयानुकुल ऐन नियम र कानुनको संसोधनमा जोडदिइने तिला गाउँपालिकाकि उपाध्यक्ष गोरिकला बुढाले बताइन । यस्तै तिला गाउँपालिकाकि निवर्र्तमान उपाध्यक्ष विष्णुमाया बुढाले विगतका असल अध्यासलाई आत्मसाथ गरि अघि बढ्न सुझाव दिएकि छन् ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले बजेट निर्माण र योजना छनोटमा स्थानीय सँग परामर्श नगरिएको बताएका छन् । आवश्यकता र प्राथमिकका आधारमा बजेट र योजना बिच सन्तुलन कायम राख्न तिला गाउँपालिकालाई उनले सुझाव दिएका छन् ।
आर्थिक अनुशासनलाई जोड दिइने तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताएका छन् । सार्वजनिक सुनुवाईमा आएका सुझावलाई आत्मसाथ गरि आगामि दिनमा प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादनमा जोड दिइने अध्यक्ष रोकायाले बताए ।