अभाव र दबाब सँग जुधेँ, अनि निजामति सेवा प्रवेशको ढोका खुल्यो

असार २९, २०८०

भनिन्छ ‘जुनसुकै बालकले पनि आमाको काखमा जस्तोसुकै विपत्तिमा पनि सुरक्षित महसुस गर्छ ।’ तर म त्यस्तो अभागी हुँ, जसले जन्मेको ६ महिनामै आमा गुमाँए । दुख ,कष्ट र विपत्ति ले हरेक मानिसलाई साहसिक बनाउँदो रहेछ ।

मेरो जीवन संघर्षको पर्याय नै बन्यो । मेरो संघर्ष यसरी सुरु भयो, ‘विपन्न परिवार, जंगलको विचमा विद्यालय, अशिक्षित समाज’ जुम्लाको तातोपानि गाउँपालिका ७ सर्मी सुर्किको दुर्गा निमावि (हाल मावि) मा कक्षा आठ सम्म अध्ययन गरेँ । पढ्दा बखत कहिले लेख्न को लागी कापि, कलम सम्म पनि हुन्थेन । गाउँमा शिक्षा प्रेमी कमै थिए । स्कुल कम गोठालो बढि जानु पथ्र्यो ।

जंगलको विद्यालय पुग्न पौने १ घण्टा हिड्नु पथ्र्यो । असिना पानी, हावा हुरि, हिमपात को सामना गर्नु पथ्र्यो । पढ्दै गरियो, कक्षाको अब्बलमै गनिन्थे । पढाइ भन्दा बढि ध्यान मेला पर्वहरुमा जान्थ्यो । जता रमाईलो उतै कुलेलाम ठोक्ने बानि बस्यो । कुनै सपना थिएन, मात्र कक्षा आठ पास गर्न पाए पुग्छ, भन्ने थियो । आठ पास गरियो एसइई पास गरेर लोकसेवा पढ्ने सपना देख्न थाले ।

गाउका अग्रज दाजुहरु स्नातक सम्मको शिक्षा हासिल गरेर गाउमै कोहि करारमा पढाउने र कोहि जुवातासमे दिन फालेको देख्दा पढाइप्रती वितृष्णा जागेर आउथ्यो । कक्षा आठ सम्म बनेको बेस ९ र १० मा बिग्रयो । किनकी गाउँको भताभिङ्ग स्कुलमा पढे नि प्रथम, नपढेनि प्रथम जस्तो थियो । कति दिन त पढाइ र बिद्यालयको गतिबिधिको विरोध गर्दा शिक्षक सँग नमिठो भनाभन पनि भयो । बिद्यालयमा प्रतिस्पर्धा को कमि भए बिद्यार्थीको स्तर घट्दो रहेछ भन्ने जन मा वि सुर्खेतमा पढ्दा अनुभव भयो ।

जुम्लाको परीक्षा सेन्टर बाट एसइई परीक्षा दिदा नमिठो भनाभन पनि भएको छ । मैले एसइई मा नक्कल नगरि (चिट नचोरि) २ दशमलव ७० जिपिए ल्याएँ भन्दा कसैले पत्याएनन्, किनकी दुर्गमका विद्यालय मा पढाइ को स्तर बारे तपाई हामी जानकार नै छौं । जुन दिन हाल कर्णाली प्रदेशको राजधानि सुर्खेतको जन मा वि मा प्लस टु टपर माथि नै गनिन थालेपछि मर्यादित परीक्षा बाटै एसईई पास गरेको भनेर विश्व्सत भए ।

अधिकांस साथिहरुले आर्थिक अभावले पढाई नत्यागेका पनि होइनन्, तर मैले आफै कमाएर पनि पढेँ । गाउँमा पढाइ लाई पुर्णविराम लगाउनु को मुख्य कारण भनेकै आर्थिक अवस्था कमजोर हुनु हो । मेरो पनि त्यहि विवशता थियो । कक्षा १ देखि १२ सम्म ठुलि आमाको छोरा हरि बहादुर रावतको घरमा बसेर पढेको हु । लोक सेवा ट्युसन पढ्ने पैसा नभएर ट्युसन नपढि कोठामै स्वअध्ययन गरेँ । २०७६ मा मात्रै लोकसेवाको परीक्षा दिने अवसर पाइयो । संघ मा खरिदार र नासु दुबैमा। तर स्थानिय तहको पाचौँ तहमा मात्र जुम्ला बाट नरहरिनाथ गाउँपालिका कालिकोट सिफारिस भएँ ।

दुर्गा मा वि मधु सर्मी सुर्किमा पढ्दा गुरु रामचन्द्र भण्डारिले भन्नू हुन्थ्यो, दुख, कष्ट र अभाव भन्दा ठुलो गुरु कतै भेटिदैन ,भनेर । मैले यी तीन चिजलाई साथि बनाए । बाधा, अट्चन नआएका होईनन्, तर साहस र हिम्मत गरें । धैर्यता, लगनशीलता र मेहनतलाई आत्मसात गर्न सकेमात्रै सफलताको हकदार हुन पाईन्छ ,भन्ने मेरो अनुभव छ ।

अहिले विभिन्न कारण देखाउदै विचमा पढाई छोड्नेहरु बढेको देख्दा खिन्न मन हुन्छ । अभावले सृजना गरेको दवावको सामना गर्दै अध्ययन सँग जोडिनै पर्छ । भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । बेरोजगारीको मुख्य जड भनेकै बिचमा पढाई त्याग्ने प्रवृत्ती हो । धैर्य गरेर अध्ययनमा जुटौं, पक्का जीवन गुणस्तरीय बन्ने छ ।

लेखक हिमा २ का वडा सचिव हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस