तातोपानीका खाेलानालामा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिने

असार १०, २०८०
जुम्लाकाे तातोपानी गाउँपालिकाले पालिका भित्रका खाेलानालामा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने भएकाे छ। १३ औं गाउँसभामा आर्थिक वर्ष २०८०/०८१ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका भित्रका खाेलानालामा विद्युत उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले उद्घाेष गरेका छन्।
तातोपानी विद्युत उत्पादनका दृष्टिले प्रचुर सम्भावना बाेकेकाे पालिका हाे। गिडिखाेला, सर्मीकाे घट्टेखाेला, सुर्कि, ताम्ती, बारागाउँका खाेला, बुंतडि खाेला, टाेप्लाकाे सुडाखाेला, इमाल्चा खाेला लगायतका खाेलाकाे पानिबाट प्रशस्त विजुली निकाल्न सकिने छ।
यसका साथै गाउँपालिका भित्र लामाे समय देखि निर्माणाधीन विद्युत आयाेजनाहरुकाे पुन सम्भाव्यता अध्ययन गरि औचित्यकाे आधारमा मात्र बजेट विनियोजन गरिने नीति अख्तियार गरिएकाे अध्यक्ष चाैंलागाईले बताए।
विद्युत नपुगेका गाउँबस्ती तथा घरहरुमा बैकल्पिक उर्जाकाे व्यवस्थाका लागि पहल गरिने नीति लिइएकाे बताइएकाे छ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस