
२२ जेठ, २०८०
प्रकृति अधुरो छ, जहाँ सुन्दरताको बास छैन, अनि सुन्दरताको के अर्थ जहाँ प्रकृतिको मिसावट छैन । यहि प्रकृतिको जादु हेर्न सुरु हुन्छ १० जना जवानहरुको जुम्ला खलंगा बाट पातारासीको शङ्कर झरना सम्मको एउटा नयाँ यात्रा । क्षितिज पारी आकाश छोहुला झैं गरेको पातारासी हिमाल, अनि विशाल चट्टानको बिचबाट कणकण भएर झर्ने शङ्कर झरना हेर्न हामी लोभिएका थियौं ।
पातारासी गाउँपालिकाको केन्द्र लासी बजार हुदै जवाँ नदिको किनार पछ्याउदै यात्रा सुरु भयो । समुन्द्रमा मिसिन हिँडेको कञ्चन जँवा नदि ओरालो यात्रामा थियो, हाम्रा पाइला भने उकालोमा थिए । पेरे गाउँको डिलमा बसेर पुवतिर्र हेर्दा निलो आकाशमा सेतो बादल, अनि मुस्कुराइरहेको पातारासी हिमालले शोभा बढाइरहेको थियो ।
नुन चामलका लागि महिनौ हिड्ने हाम्रा पुर्खा, अनि झरना हेर्न मोटरसाइकलमा सवार हामी । एउटै भूगोलमा विज्ञान र प्रविधिले बदलिएको परिस्थिति । विज्ञानले दिएको सुविधा हामीले पेरे भित्रको खोंच सम्म मात्रै उपयोग गर्यौं । बाइक थन्काएर पैदल हिड्दै पेरे गाउँको खालीचौर सम्म पुग्दा बेलुकाको ८ बजिसकेको थियो । साथीहरु युद्धस्तरमा बास स्थानको बन्दोबस्तमा जुटे ।
दुरी र समयका हिसाबले शङ्कर झरना पुग्न कठिन छैन । जुम्ला खलंगा बाट डेढ घण्टा मोटरमा र आधा घण्टा पैदल हिँडे शङ्कर झरना सँग साक्षात्कार गर्न सकिन्छ । तर हामीलाई खुला आकाश मुनि रात कटाउने रुची थियो । साँझको खाना पछि साँगितिक रमझम र मिठा भलाकुसारी भयो । २ जना भेडिगोठाला पनि हाम्रो त्रिपालमा थपिए ।
जँगलको बिचमा रहेको खाली चौरमा हाम्रो कोलाहलले वन छेउछाउका वन्यजन्तु त्रसित भए होलान् साहेद । यि मनुवाले रातमा पनि सुखले बस्न दिएनन् भन्ने सोेचे कि ! खैर हाम्रो टिम रमाइरहेको थियो । विहान सबेरै हामी लम्कियौं, शङ्कर झरना तर्फ ।
आधा घण्टाको यात्रा पछि शङ्कर झरना नजिक पुग्यौं । चट्टानको बिचबाट कणकण भएर खस्ने शङ्कर झरनाको बाछिटाले हाम्रो दुख भुलाइरहेको थियो, शितलता थपिदै थियो । झरनाको दृश्य यति प्रीय थियो कि, आँखाले हेरौं, या क्यामेरामा कैद गरौं अलमल परियो । तस्वीर खिचौं कि मस्तिष्कमा सुरक्षित गरौं बडो दोधार हुदो भयो । प्रकृतिको जादु बेग्लै हुन्छ, सुसाउने खोलानालाको संगित, सुर्योदयको बेला धिमा गतिमा चट्टान बाट खस्ने पानीका कण, टिमलाई फोटो, भिडियो, टिकटक बनाउन भ्याईनभ्याई भइरहेको थियो ।
साथीहरुले झरनाको बयान गर्दै भनिरहेका थिए, ‘धर्तीको स्वर्ग, जहाँ दुख भुलाउन सकिन्छ ।’ बिस्तारै घाम चम्किदै गयो, अनि चट्टा बाट बग्ने झरनामा सात रङको इन्द्रेणी चम्कियो । मन मनै सोच्न थालेँ, वाह ! मैले खोजेको प्रकृति यो पो हो त । क्या गज्जब छ, झरना ।
झरनाको अन्तिम विन्दुमा राष्ट्रिय झण्टा फहराउदा दृश्यमा अझ सुन्दरता थपियो । स्वदेशको ‘कर्णाली सँग रारा, फोक्सुण्डो, डिगिदह जस्ता सुन्दर ताल छन्, जडिबुटिको खानी पनि छ, तर सरकार सँग पर्यटन प्रर्वद्धनको योजना छैन ।’