अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत जुम्लामा देखिएका समसामयिक समस्याहरूको समाधानका लागि प्रेस विज्ञप्ति हस्तान्तरण गरेको छ। नवनिर्वाचित अध्यक्ष बिन बहादुर रावतको नेतृत्वमा गएको टोलीले उक्त विज्ञप्ति बुझाएको हो।
विज्ञप्तिमा नेपाली विद्यार्थी आन्दोलनको मर्मअनुरूप राष्ट्र राष्ट्रियता स्वाधीनता र जनजीविकाका सवालमा संगठनले निरन्तर खबरदारी गर्दै आएको उल्लेख छ। हालै जुम्ला विमानस्थलमा हवाई टिकटमा भइरहेको मनपरीन्त्र शक्तिशाली व्यक्तिहरूको हालीमुहाली तथा गम्भीर बिरामी र सर्वसाधारणले हवाई उडानमा पाइरहेको सास्तीप्रति संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ। बिरामी र सर्वसाधारणका लागि सहज वातावरण बनाउन तथा हवाई उडानमा प्राथमिकता दिन जोड दिइएको छ।
त्यसैगरी विद्यार्थी आन्दोलनबाट प्राप्त ४५ प्रतिशत यातायात भाडा छुट हालसम्म पनि कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियुले लामो तथा छोटो दूरीका यातायातका साधनहरूमा उक्त छुट तत्काल कार्यान्वयन गर्न माग गरेको छ। यदि ध्यानाकर्षण र अनुरोधको सुनुवाई नभएमा थप कडा आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।
