जुम्लामा विषादी प्रयाेगमुक्त सप्ताहको पहिलो दिन जनचेतनामूलक सडक नाटक प्रदर्शन

जुम्लाको सिंजा नराकोट मा विषादी प्रयाेगमुक्त सप्ताहको पहिलो दिन जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। स्थानीय स्तरमा विषादी प्रयोग न्यूनीकरण गर्दै किसानलाई सुरक्षित तथा जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
जुम्ला यसअघि नै अर्गानिक जिल्ला घोषणा भइसकेको सन्दर्भमा जिल्लालाई पूर्ण रूपमा विषादीमुक्त बनाउने अभियानअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा प्रचारप्रसार गरिने बताइएको छ।
कार्यक्रममा कलाकार भैरे टिमले सडक नाटक प्रस्तुत गर्दै विषादी प्रयोगबाट मानव स्वास्थ्य, माटोको उर्वराशक्ति तथा वातावरणमा पर्ने नकारात्मक प्रभावबारे सशक्त सन्देश प्रवाह गरेका थिए। नाटकमार्फत अत्यधिक र असुरक्षित विषादी प्रयोगले दीर्घकालीन रोग, उत्पादनको गुणस्तरमा ह्रास तथा प्राकृतिक प्रणालीमा असर पुग्ने विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख राम भक्त अधिकारीले किसानलाई विषादी प्रयोग नगर्न आग्रह गरेका छन्। उनले विषादीको अनियन्त्रित प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै माटोको उत्पादन क्षमता समेत कमजोर बनाउने बताए। उनले परम्परागत तथा जैविक खेती प्रणालीलाई प्रवर्द्धन गर्दै स्थानीय उत्पादनलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा सिंजा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरत बहादुर रावत ले जुम्लालाई साँच्चिकै अर्गानिक जिल्ला बनाउन स्थानीय तह, किसान र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। उनले पालिकाले विषादी प्रयोग निर्मूल पार्न आवश्यक नीति तथा कार्यक्रम लागू गर्दै जैविक उत्पादनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीयवासी, किसान, विद्यार्थी तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले जनचेतना अभिवृद्धिसँगै जैविक खेती विस्तार गर्न यस्ता अभियान प्रभावकारी हुने बताएका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस