जुम्लामा किशोरीहरूको आत्मविश्वास, नेतृत्व क्षमता तथा आत्मसम्मान अभिवृद्धि गर्ने उद्देश्यले ‘गर्ल्स आउट लाउड’ कार्यशाला सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन गरिएको उक्त कार्यशाला कनकासुन्दरी गाउँपालिकामा आयोजना गरिएको हो।
कार्यशालामा जुम्लाका तीन वटा गाउँपालिकाबाट कक्षा ८, ९ र १० मा अध्ययनरत ३२ जना किशोरीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीमध्ये हिमा गाउँपालिकाबाट ४ जना, सिंजा गाउँपालिकाबाट १२ जना र कनकासुन्दरी गाउँपालिकाबाट १६ जना किशोरीहरू सहभागी भएका छन्।
कार्यक्रम प्लान इन्टरनेसनल नेपालको सहयोगमा ‘आत्म सम्मानका लागि सहकार्य’ क्याड नेपालद्वारा आयोजना गरिएको हो भने कनकासुन्दरी गाउँपालिकाको समन्वय रहेको छ।
कार्यशालामा किशोरीहरूलाई सामाजिक सञ्जालकाे सदुपयोग र दुरुपयाेगबारे प्रशिक्षण गर्नुका साथै यसकाे सुरक्षा बारे अवगत गराइएकाे क्याड नेपालले जनाएको छ।
नेतृत्व विकास, आत्मसम्मान वृद्धि, प्रभावकारी अभिव्यक्ति, लैङ्गिक समानता तथा आफ्ना अधिकारसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई आफ्ना अनुभव साझा गर्ने, समूह छलफल गर्ने र सामाजिक मुद्दामा खुलेर बोल्ने वातावरण सिर्जना गरिएको थियो।
आयोजकका अनुसार, यस कार्यशालाले किशोरीहरूलाई आफ्ना अधिकारबारे सचेत गराउनुका साथै समाजमा आफ्नो आवाज बुलन्द गर्न सक्षम बनाउने लक्ष्य राखिएको थियो। सहभागी किशोरीहरूले पनि कार्यक्रमबाट आफूहरूमा आत्मविश्वास बढेको र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
हिमा गााउँपालिकाकि किशोरी सुस्मिता शाहीले कार्यशालामा परम्परागत हानिकारक अभ्यास कुरिति काे असर र न्युनिकरण बारे धेरै कुरा सिक्न पाएकाेमा खुसि व्यक्त गरिन। यस प्रकारका कार्यक्रमहरूले ग्रामीण क्षेत्रमा रहेका किशोरीहरूको क्षमता विकास, सशक्तिकरण र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


