जुम्लाको तिला गाउँपालिकाले १७ औं हिउँदे गाउँसभाबाट ६ वटा विधेयक पारित गरेको छ । शुक्रबार भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ६ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।
पारित भएका विधेयकमध्ये गाउँपालिकाको आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व ऐन (२०८२), गाउँसभा सचिवालय स्थापना र कार्य संचालन कार्यविधि, बेरुजु फछ्र्योट कार्यविधि र लेखा समिति गठन तथा कार्य संचालन कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।
यसैगरी लेखा समिति गठन तथा कार्य संचालन कार्यविधि,लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको लागि कार्यक्रम संचालन कार्यविधि,घ वर्गको निर्माण व्यावसायिक ईजाजत सम्बन्धी संशोधित कार्यविधि र घर नक्सा पास सम्बन्धी मापदण्ड र कार्यविधि (२०८२) हिउँदे गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।
चालु आर्थिक वर्षमा बजेटमा प्रस्तुत भएका विभिन्न योजना कार्यक्रमलाई संशोधन गरी आवश्यक देखिएका आठवटा नयाँ योजना हिउँदे गाउँसभाबाट पारित भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२।०८३ को लागि विनियोजन भएको पुँजीगत र चालु शीर्षकमा कुल रु ५५ करोड २१ लाख ८२ हजार बराबरको बजेट ल्याएको थियो । जसमा हालसम्म पुँजीगततर्फ कुल बजेटको २४ प्रतिशत र चालुतर्फ १७ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रावलले बताए ।
चालु आवमा ठेक्काबाट संचालन हुने १४ वटा योजनामध्ये १२ वटाको बोलपत्र भइ ठेक्का सम्झौता समेत भइसकेका छन् । २ वटा योजनाको बालेपत्र आह्वान भएको छ । उपझोक्ताबाट संचालनहुने १७ वटा योजनाको हालसम्म सम्झौता भएकाछन् । बाँकी १०३ वटा योजना चैत महिना भित्र सम्झौता गर्नको लागि वडाहरुलाई निर्देशन र समन्वय भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रावलको भनाइ छ ।
गाउँपालिकाले यस आवमा आन्तरिक राजस्व संकलनको लागि अनुमान लक्ष्य २८ लाख ८ हजार ७५० रुपैयाँ लिएकोमध्ये चालु आवको हालसम्म ९ लाख ९७ हजार राजस्व संकलन गरेको तिला गाउँपालिकाले जनाएको छ ।
