जुम्ला सिंजाका युवाले बनाए, चढ्न मिल्ने मोटरसाइकल

जुम्लाकाे चुलेल गाउँका युवाले मोटरसाइकल निर्माण गरेका छन् । सिंजा गाउँपालिका वडा नम्वर २ चुलेलगाउँका युवा प्रशान्त वडले चालक सहित २ जना चढ्न मिल्ने मोटरसाइकल निर्माण गरेका हुन् । ४ वर्ष अघि सोलारको ब्याट्रिबाट चल्ने कार बनाएर गुडाएर चर्चा कमाएका युवा प्रशान्त वडले अहिले मोटरसाइकल निर्माण गरेर प्रयोगमा ल्याएका छन् ।

सोलारमा १२ भोल्टको डबल ब्याट्रि ४ जना सम्म बस्न मिल्ने कार बनाएर गुडाएका प्रशान्तले ६ महिनाको अथक मेहनत र अनुसन्धान पछि मोटरसाइकल बनाएर गुडाउन सफल भएका छन् ।उनले हाते ट्याक्टरको इन्जिन, अटोको टायर, फलाम र काठको बडि बनाएर मोटरसाइकल तयार पारेका छन् । बनाउदै जाँदा तिन पटक सम्म फेल भएका प्रशान्तले अन्तत अधिकतम ४० देखि ५० सम्मको स्पिडमा गुड्ने मोटरसाइकल निर्माण गर्न सफल भएका छन् ।

गाउँमा पानीबाट चल्ने कुटानी पिसानी मिल समेत बनाएका प्रशान्त आजभोली छोटो दुरिमा आफैले बनाएको मोटरसाइकलमा आवतजावत गर्छन ।‘स्रोत साधन हुने हो भने धेरै थोक बनाउन सकिन्छ तर गाउँघरमा त्यस्तो वातावरण छैन, सामान्य बत्तिको अनियमितताले मात्रै यो मोटरसाइकल बनाउन ३ महिना लगाएँ, नत्र छिट्टै तयार हुन्थ्यो ।’ प्रशान्तले भने । प्रति घण्टा १ लिटर पेट्रोल खर्च हुने मोटर साइकल बनाउन ३० हजार जति मात्रै खर्च भएको उनले सुनाए ।

उत्तम अवसर पाए यस क्षेत्रमा नयाँ नयाँ काम गर्ने सपना साँचेको उनले सुनाए । ‘महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबारे केहि कुरा सुनेको छु, अवसर पाए मैले पनि नयाँ नयाँ आविष्कार र यस्ता कर्ममा जोड दिने मन थियो । उनले सुनाए ।प्रशान्त वडले स्थानीय स्तरमा रामै साथ र हौसला पाइरहेका छन् । सिंजा गाउँपालिकाले मोटरसाइकल निर्माणका समयमा आवश्यक सामान उपलब्ध गराएर साथ दिएको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । यसका साथै प्रशान्तका लागि गाउँमै इलेक्ट्रोनिक पसल सञ्चालनका लागि समेत सहयोग प्रदान भएको अध्यक्ष धितालले बताए ।

‘प्रशान्त मेकानिकलका क्षेत्रमा अद्भुद प्रतिभा भएका युवा हुन्, उनलाई यहि क्षेत्रमा आत्मनिर्भर बनाउन इलेक्ट्रोनिक पसल सञ्चालनका लागि समेत सहयोग गरिएको छ, यद्यपि उनको प्रतिभा यतिमा मात्र सिमित हुनु हुदैन भनेर सचेत छौं, तर उनलाई उजागर गर्न र बाहिरि दुनियाँ सँग परिचित गराउन सबैको सहयोग आवश्यक छ ।’ अध्यक्ष धितालले भने ।

प्रशान्त वड जुम्लाका युवा वैज्ञानिक टक्क नेपाली पछिका क्षमतावान् युवा हुन् । टक्क नेपालीले जुम्लामै प्याराग्लाइड निर्माण गरेर परिक्षण उडान समेत सफल पारेका थिए । टक्कले अहिले घरको छतमा हवाइजहाजको आकृति बनाएर चर्चा बटुलेका छन्, भने प्रशान्तले सिंजामा मोटरसाइकल निर्माण गरेर गुडाइरहेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस