जुम्लाको दुई स्थानीय तह बिच भगिनी सम्बन्ध कायम गरिएको छ। जुम्ला स्थित तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हाे। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाई र चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध अगाडि बढाएको घाेषणा गरेका छन्।
दुई स्थानीय तहकाे विकास, समन्वय तथा आपसी सहयोग आदान प्रदानका लागि भगिनी सम्बन्ध जाेडेकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाईले जानकारी दिएका छन्। दुई पालिकाका बिच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्ध मार्फत संस्थागत प्रणालीलाई अझ सदृढ र सबल बनाउने उदेश्य राखिएको उनले बताए ।
आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन स्वशासन र समृद्ध पालिका निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न्न र सहकार्य गर्ने उदेश्यले यो सहमति गरेकाे जनाइएको छ।
असल अभ्यास तथा सफल अनुभवको आदान प्रदान गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
