गिडिदह लक्षित गतिविधिमा छलाङ, २०८२ साललाई भ्रमण वर्षका रुपमा लिइने

जुम्लाको गिडिदह पुर्खों देखि गुमनाम जस्तै रह्यो । गिडिदहमा आक्कल झुक्कल सिकारी, जडिबुटि संकलक र गोठाला मात्रै पुगे । गिडिदहको रहस्यले अनेकलाई भिन्नभिन्न धारणा मा विभाजित गरिरह्यो । सुनिन्थ्यो, ‘गिडिदहमा पुगेकाहरु राक्षसका आहारा बन्छन्, महिला त झन पुग्नै हुदैन ।’ जब तातोपानी गाउँपालिका वडा नम्वर ४ ले २०७९ असोजमा तालछेउबाट गिडिदह सम्मेलन गर्यो त्यहि दिनबाट भ्रमको पर्दा खुलेर वास्तविकताको दृश्य देखियो ।बुकिले ढाकिएको एकनासे पानसय पाटन पार गर्दै पहिलो पटक सरकारी टोली गिदिडहमा पुगेको थियो ।
घना जङ्गलको जोखिमपुर्ण यात्रामा बाटो बनाउदै गिडिदहको जीर्ण धर्मशालामा भेला भएको टिमले सम्भावना र चुनौतीको दुबै पाटा राम्ररी देखेको थियो । यात्रामा जेष्ठ नागरिक देखि महिला समेत सामेल थिए । जब गिडिदह सम्मेलन गरि टोली फर्कियो, त्यसपछि गिडिदह लक्षित गतिविधिमा एक हिसाबले क्रान्ति नै भयो । तातोपानी गाउँपालिका वडा नम्वर ४ मा अवस्थित गिडिदह कर्णालीकै तेस्रो ठुलो तथा गहिरो ताल हो ।

गिडिदह सम्मेलन पछिको तीव्रता
गिडिदह सम्मेलन पछि गिडिदह लक्षित अनेक संरचना बनेका छन् । तातोपानी गाउँपालिका वडा नम्व्र ४ का वडा अध्यक्षका अनुसार झण्डै ४ किलोमिटर पदमार्ग निर्माण भएको छ ।
तालछेउमा ५० जना बस्न मिल्ने व्यस्थित धर्मशाला निर्माण भएको छ । फुलचाउँल्याको तल खोलामा झुलुंगे पुल समेत निर्माण भएको छ । ‘यो वर्ष ९ किलोमिटर पदमार्ग निर्माण हुदै छ । बिच बाटो जानकारीमूलक बोर्डहरु राखिएको छ । सबै भन्दा ठूलो उपलब्धि गिडिदहको क्षेत्रफल सार्वजनिक गरिएको छ ।’ वडा अध्यक्ष रोकायाले भने ।
कर्णालीकै तेस्रो गहिरो ताल गिडिदहको नाँपजाँच भइ क्षेत्रफल सार्वजनिक भइसकेको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति काठमाण्डौंको ५ लाख र तातोपानी गाउँपालिकाको ९ लाख गरि कुल १४ लाख बजेटमा काठमाण्डौं विश्वविद्यालयले नाँपजाँच गरि प्रतिवेदन सार्वजनिक गरिसकेको छ । नाँपजाँच प्रतिवेदन अनुसार गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ८ मिटर रहेको छ ।
२०८२ साललाई गिडिदह भ्रमण वर्षको रुपमा लिइने

तातोपानी गाउँपालिकाले २०८२ साललाई गिडिदह भ्रमण वर्षको रुपमा लिने भएको छ । आज गिडिदह पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि बहस कार्यक्रम आयोजना गरेर २०८२ साललाई गिडिदह भ्रमण वर्षको रुपमा लिइने घोषणा गरिएको छ । गिडिदहलाई पर्यटकीय क्षेत्र बनाउन शुन्यबाट काम थालेर अहिले थुपै्र संरचना निर्माण गर्न सफल भएकोले २०८२ साललाई गिडिदह भ्रमण वर्षको रुपमा लिइने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताएका छन् ।

गिडिदहलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन ऐरेनिबाट फुल्चाउँल्या सम्म सडक पुर्याउन नितान्न आवश्यक रहेको अध्यक्ष चौंलागाईले बताए । हाँकुमा पक्की पुल निर्माणका लागि कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीलाई उनले ध्यान आकर्षण समेत गराएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस