धाैलापानीमा ५७ लाख लागतमा बन्याे लिफ्ट सिंचाइ, सार्वजनिक सुनुवाइ सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ धाैलापानीमा ५७ लाख लागतमा लिफ्ट सिंचाइ निर्माण भएकाे छ । रुखाे जमिनमा सिंचाइ गरेर किसानकाे आयआर्जन बढाउने उदेश्यले धाैलापानीमा ५७ लाख ६१ हजार २ सय ३२ रुपैयाँ लागतमा लिफ्ट सिंचाइ निर्माण गरिएको हाे। कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा रेरास परियाेजनाकाे सहयाेग तथा तातोपानी गाउँपालिकाकाे समन्वयमा धाैलापानीमा लिफ्ट सिंचाइ निर्माण भएकाे हाे।
आज लिफ्ट सिंचाइकाे सार्वजनिक सुनुवाइ समेत सम्पन्न भएकाे छ। विद्युुतबाट सञ्चालन हुने गरि निर्माण सम्पन्न भएकाे धाैलापानी लिफ्ट सिंचाइकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैंलागाईकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे। धाैलापानी लिफ्ट सिंचाइ उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार धाैलापानीकाे सुख्खा जमिनमा सिंचाइ गर्न ५० घनमिटर काे रिजर्भ ट्यांकि तथा १०/१० घनमिटर का २ वटा सहायक ट्यांकि बनाइएकाे छ।
तातोपानी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षले लिफ्ट सिंचाई निर्माण पछि धाैलापानी क्षेत्रमा स्याउ, ओखर जस्ता फलफूल तथा तरकारी खेतिकाे लागि सुनाैलाे वातावरण मिलेकाे बताए । विगतमा पानी अभावमा पिछडिएका किसानले अब सिंचाइकाे भरपुर उपयाेग गर्दै उतपादन बढाउनुपर्ने उनले बताए ।

यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले याे लिफ्ट सिंचाइ बाट धाैलापानी केवल ३५ घरधुरीले मात्रै नभइ आसपासका किसानले लाभ लिनुपर्नेमा जाेड दिए। जतिसक्दाे याे प्रविधिको प्रयाेग तथा सेेवा विस्तार गर्न उपभोक्ता समितिलाई अध्यक्ष चाैंलागाईले सुझाव दिएका छन्। पालिकाबाट पाइप लगायत आवश्यक सामाग्रीका लागि सहयाेेग हुने समेत उनले बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस