
जुम्ली किसानका लागि याे हिउँद पिडादायी रह्याे। हिउँदभरि न पानी पर्न सक्याे न हिउँ । सिंचाइकाे सुविधाबाट विमुख किसान हिमपात नभएपछि छटपटिमा थिए। तर अकस्मात् बिहिबारबाट लगातार पानी पर्न थालेपछि किसान हर्षित भएका छन्। जुम्लाकाे लेकसाइडमा हिउँ परिरहेकाे छ, भने तल्लाे क्षेत्रमा निरन्तर पानी परिरहेकाे छ।
यसपालिको सुखद् वर्षाले सुक्न लागेका हिउँदेबालीले प्राण पाउने भएपछि मन हर्षित भएकाे तातोपानी गाउँपालिका ७ सर्मीका हरिश कुँवरले बताए । आकाशबाट पानी नै नपरेपछि स्याउ ओखरका बिरुवा राेप्न नसकेको उनले जानकारी दिए। ´प्रकृतिले ढिलै भएपनि आफ्नाे धर्म भुलेन। पानी नपरेकाे भए सारा खेति नै चाैपट हुने चिन्ता थियाे।` उनले भने।
हिउँदभर हिमपात हुन नसक्दा कृषि गतिविधि ठप्प झै भएकाे कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारले बताए । ढिलै भएपनि पानी परेपछि किसानलाई स्याउ ओखरका बिरुवा राेप्न, गडा सुधार गर्न र खनजाेत गर्न सहज हुने उनले जानकारी दिए।
यसपटककाे पानीले बहुआयामिक फाइदा पुग्ने देखिन्छ। अब बनपाखामा पालुवा पलाउने छ, जसले गाेठालाहरुलाई भेडा बाख्रा चराउन मद्वत पुग्ने छ। फागुन सकिदै गर्दा पनि चरण क्षेत्र उराठ लाग्दा र रुखाे छन्। भेडाबाख्रा चराउन मुस्किल परिरहेकाे किसान वीर बहादुर कुँवरले बताए ।
याे वर्ष जुम्लामा हिमपात नभएपछि बनपाखामा आगलागीबाट ठूलाे क्षति भयाे। ठाउँठाउँमा बन जंगल डढेलाेले सखाब भयाे। याे पानीले केही हदसम्म आगलागी नियन्त्रण पनि गर्ने अपेक्षा गरिएको छ।
विगतमा फागुन अन्तिम साता सम्म लेकसाइडकाे घाम नलाग्ने वन जंगलमा हिउँ सेताम्मे हुन्थ्याे। जसबाट आगलागीले कम क्षति गर्थ्याे।
याे वर्ष हिउँ नपरेपछि जुम्लाका विभिन्न ठाउँमा आगलागी भएकाे वन डिभिजन कार्यालय जुम्लाका प्रमुख भरत बहादुर बुढ्थापाले बताए । याे पानिले आगलागी बाट वन जंगलकाे केही हद सम्म रक्षा हुने बताए ।
