
विश्व खाद्य कार्यक्रमकाे दिवा खाजा कार्यक्रम जुम्लाको चन्दननाथ नगरपालिकामा पनि सञ्चालन हुने भएकाे छ। यस अघि जुम्लाका आठ पालिका मध्य तातोपानी गाउँपालिकामा मात्रै विश्व खाद्यकाे दिवा खाजा कार्यक्रम सञ्चालन भइरहेकाे थियाे। अब चन्दननाथ नगरपालिका १९ वटै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएकाे हाे।
आज चन्दननाथ नगरपालिकामा रेरास परियाेजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम काे पालिका स्तरीय कार्यक्रम सुरुवाती तथा अभिमुखीकरण बैठकमा यस बारे थप छलफल गरिएकाे छ।
स्थानीय कृषक समुह, सहकारी सबै सामुदायिक विद्यालय र विद्यार्थिहरु लाभान्वित हुने गरि दिवा खाजालाई चन्दननाथमा जाेड्ने विश्व खाद्य कार्यक्रमका जुम्ला संयाेजक चक्र जिसिले बताएका छन्।
आसन्न फागुन महिनाबाट चन्दननाथ नगरपालिकाकाका सामुदायिक विद्यालयमा दिवा खाजा सञ्चालन गर्न हाललाई ४० लाख बजेट प्रस्ताव गरिएको उनले बताए ।
दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम मार्फत आवश्यक सहयोग पुर्याउन याे प्रभावकारी हुने चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताए ।
साना किसान, कृषक समुह तथा कृषि सहकारीको संस्थागत विकासका लागि दिवा खाजाले बहुआयामिक फाइदा पुग्ने नगर प्रमुखकाे भनाइ छ।
दिवा खाजा कार्यक्रममा सर्भेक्षणको आधारमा भौतिक पूर्वाधार तथा आवश्यक सामग्री सहयोग गर्ने कार्यक्रमकाे लक्ष्य रहेकाे छ।
