
जुम्लामा आगलागिका विषयमा कृतिम घटना अभ्यासको नमूना प्रर्दशन गरिएको छ । सुख्खा समय सुरु भएकाले आगलागिका घटनाबाट सचेत गराउन कृतिम घटना अभ्यासको नमूना प्रर्दशन गरिएको हो । नेपाली सेनाको खेलमैदान टुडिखेलमा मंगलबारका दिनमा कृतिम घटना अभ्यासको नमूना देखाईएको छ ।
ग्यास आगलागि नियन्त्रण, घर तथा निजि आवासमा हुने आगलागि नियन्त्रण, वनजंगल तथा घाँसे मैदानमा हुने आगलागि नियन्त्रण र शरीरमा आगोलागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अभ्यास मार्फत सचेतना प्रदान गरिएको छ ।
आगलागिका विभिन्न घटना न्युनिकरणमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नगर प्रहरीले भूमिका निर्वाह गरेका थिए । घर आगलागि हुँदा नियन्त्रण गर्ने उपायका विषयमा नेपाली सेना, ग्यास आगलागि हुँदा नियन्त्रण गर्ने विषयमा शसस्त्र प्रहरी बल, शरीरमा आगलागि हुँदा र वनजंगलमा आगलागि हुँदा नियन्त्रण गर्ने विषयमा नेपाल प्रहरीले नमूना अभ्यास गरेका थिए ।
घर आगलागि हुँदा नआत्ति घरबाट बाहिर निस्क्ने तरिका र घाइतेको उद्धार गर्ने विषयमा नमूना अभ्यास मार्फत जानकारी गराईएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरि आगो नियन्त्रण गर्ने बारेमा नमूना अभ्यास मार्फत नागरिकलाई सचेत गराईएको छ । यस्तै घरमा राखिएको ग्यास लिकेच भई आगलागि भएमा पर्दा वा कपडाको प्रहरी गरी नियन्त्रण गर्न सकिने विषय नमूना अभ्यास मार्फत देखाईएको छ ।
ग्यास लिकेच भएको अवस्थामा घरमा रहेका विजुलिका स्वीचहरु चलाउदा खतरा हुने भएकाले त्यस्तो कार्य नगर्न पनि सूचित गराईएको छ । विपद्का घटनामा नागरिक बढी आत्तिएर घटनाको जोखिम बढ्ने भएकाले तालिम प्राप्त जनशक्तिको सहयोगमा आगलागि लगायतका घटना नियन्त्रण गर्न सकिने नमूना अभ्यास मार्फत जानकारी गराईएको छ ।
जुम्लामा अन्य घटना भन्दा बढी आगलागिका घटना बढी हुने भएकाले आम नागरिकलाई आगो नियन्त्रणका विषयमा सचेतना दिनका लागि नमूना अभ्यास गरिएको हो । गत आर्थिक वर्ष जुम्लामा १६ वटा आगलागिका घटना भएका छन् । चालु आर्थिक वर्षको हालसम्म ४ वटा आगलागिका घटना भएका छन् ।
आगलागिका घटनालाई न्युनिकरण गर्नुका साथै आईपर्न सक्ने जोखिमलाई कम गर्न विभिन्न समयमा सुरक्षा निकाय तथा सरोकारवाला निकायले कृतिम नमूना घटना अभ्यास गर्दै आएका छन् । भविष्यमा आई पर्न सक्ने आगलागिका घटनालाई प्रभावकारी रुपमा नियन्त्रण गरी क्षति हुनबाट सचेत गराउन कृतिम घटना अभ्यास गर्ने गरिएको हो ।
कृतिम नमूना घटना अभ्यास पछि आयोजित समिक्षा कार्यक्रममा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले नागरिकलाई सचेतना दिन अभ्यास गरिएको बताए । विपद् जति बेला पनि घट्न सक्ने बताउँदै उनले नागरिक सचेत भएमा क्षति कम हुने अवगत गराएका छन्।
यस्तै चन्दननाथ नगरपालिका जुम्लाका काब मेयर नवराज देवकोटाले आगलागिका घटनाका विषयमा नगरपालिका संवेदनसिल रहेको बताए। विपद्का क्षेत्रमा नगरपालिकाले ठुलो रकम विनियोजन गरेको उनकाे भनाइ छ । यस्तै चन्दननाथ नगरपालिका जुम्लाका विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले आगलागिबाट सचेत हुने उपायका विषयमा अभ्यास मार्फत नागरिकलाई जागरुक बनाउन खोजिएको बताउए ।
जिल्ला स्थित सुरक्षा निकाय, चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा जुम्लाको सक्रियतामा कृतिम घटना अभ्यास गरिएको हो ।