तातोपानीका सामुदायिक विद्यालयमा अनुगमन

जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा अनुगमन सुरु गरेकाे छ।
विद्यालयकाे शैक्षिक सुधारका लागि विद्यालय अनुगमन अभियान सुरु गरेकाे हाे। जनप्रतिनिधि तथा शिक्षा समिति, पत्रकारकाे मिश्रित टाेलीले गाउँपालिकाका सबै ८ वडामा बिस्तृत अनुगमन गरिरहेकाे छ।
गाउँपालिकाका अध्यक्ष नन्द चौलागाईंका अनुसार यो अभियान शैक्षिक प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अभिप्रेरित छ।
तातोपानी गाउँपालिकाले अनुगमन कार्यलाई प्रभावकारी बनाउन वडागत रूपमा टोली गठन गरेको छ। उपाध्यक्ष रेवती रावलको नेतृत्वमा ८ नम्बर वडामा अनुगमन टोली खटाइएको छ भने ७ नम्बर वडामा शिक्षा शाखाका प्रमुख सुरत बहादुर शाहीको टोली खटिएको छ। बाँकी वडाहरूमा अध्यक्ष चौलागाईंको नेतृत्वमा टोलीले काम गरिरहेको छ।

अनुगमन अभियानले विद्यालयको शैक्षिक र प्रशासनिक पक्षलाई सुधार गर्न विभिन्न विषयलाई प्राथमिकतामा राखेर काम थालेको छ। जसमा विद्यालयहरूले सामाजिक लेखापरीक्षण गरेका छन् कि छैनन् भन्ने विषयमा टोलीले समीक्षा गरिरहेको छ भने लेखापरीक्षण नभएको अवस्थामा त्यसको कारण पहिचान गरिने उपाध्यक्ष रावलले बताइन्।
“यो अभियानले शिक्षा प्रणालीलाई सुधार गर्न मात्र होइन, स्थानीय तहलाई शैक्षिक क्षेत्रको वास्तविक स्थिति बुझ्न र आवश्यक सुधारका उपाय पहिल्याउन सहयोग पुर्‍याउनेछ,” शिक्षा शाखा प्रमुख शाहीले बताए।
तातोपानी गाउँपालिकाले सुरु गरेको यो अभियान अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने उपाध्यक्ष रावलको तर्क छ। उनले भनिन्, “गुणस्तरीय शिक्षा उपलब्ध गराउन सबै तहले यस्ता प्रयास गर्न आवश्यक छ। तातोपानीले सुरु गरेको यो प्रक्रिया शैक्षिक क्षेत्रको विकासको लागि एक सकारात्मक कदम हो।”

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस