व्यवस्थित बन्दै ‘गाउँका सिंहदरबार’, तिला ५ मा बन्यो प्रशासनिक भवन

स्थानीय तहको दोस्रो निर्वाचनपछि जनप्रतिनिधिहरूले धमाधम भौतिक पूर्वाधार निर्माण गर्दै आएका छन् । २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल संघीयताको जग बसाल्ने देखि अभ्यास र अनुभवमा बित्यो । २०७९ को निर्वाचनबाट आएका जनप्रतिनिधिले भने पूर्वाधारको निर्माणमा जोड दिएका छन । नागरिकको नजिकको सरकार ‘गाउँका सिंहदरबार’ मा धमाधम प्रशासकिन भवन निर्माण भइरहेका छन् । जुम्लाको तिला गाउँपालिका वडा नं ५ मा वडाको प्रशासनिक भवन निर्माण भएको छ । जनश्रमदान सहित झण्डै ७२ लाखमा व्यवस्थित भुकम्प प्रतिरोधि प्रशासनिक भवन निर्माण भएको तिला ५ का वडा अध्यक्ष ललित बहादुर शाहिले जानकारी दिएका छन् ।
‘पर्याप्त पूर्वाधारको अभावमा वडाको प्रशासनिक काम कारबाही अघि बढाउन समस्या हुँदै आएको थियो, भाडाको साँघुरो घरबाट नागरिकलाई सेवा दिन निकै कठिनाई थियो, अव यो समस्या दुर हुने भएको छ ।’ वडा अध्यक्ष शाहिले भने । गत आर्थिक वर्षमा तिला गाउँपालिकाकाे ६० लाख र १२ लाख ५३ हजार २ सय २४ रुपैंया जनश्रमदानमा वडाको भव्य भवन निर्माण भएको वडा अध्यक्ष शाहिले बताए । तिला ५ चुलाकोट गाउँमा निर्माण भएको प्रशासनिक भवन उपभोक्ता समितिले वडा कार्यालयलाई हस्तान्तरण गर्न भने बाँकि रहेको उनले जानकारी दिए ।
२०८० फागुन २४ गते भवन निर्माणका लागि सम्झौता भएकोमा २०८१ असार अन्तिम सातामा निर्माण सम्पन्न भएको तिला ५ का वडा सचिव बिस्न बुढाले जानकारी दिएका छन् । हाल सम्म जेनतेन गाउँको साँघुरो घरबाट सेवा प्रवाह भएको बताउदै उनले आगामी दिनमा वडाको व्यवस्थित भवनबाट सेवा हुने कुराले नागरिक, जप्रतिनिधि र कर्मचारीमा खुसियाली छाएको उनले बताए । ‘अहिले तिला ५ मा राष्ट्रिय परिचय पत्र वितरणको अभियान चलिरहेको छ, भाडाको साँघुरो घरबाट सेवा सदिन निकै कठिनाई भयो, ४ वटा बस्ती भएकोले सेवग्राहीको दिनहुँ जसो भिड हुन्छ, अव वडाको भवन सञ्चालनमा आयो भने सजिलो हुने अपेक्षा छ ।’ उनले भने ।
तिला गाउँपालिकामा जम्मा ९ वडा वडा रहेका छन् । जिल्लाकै दुर्गम क्षेत्र मानिने तिलाका २ वटा वडा कार्यालयले मात्रै नयाँ प्रशासनिक भवन निर्माण गरेका छन् । बाँकि वडाहरु भाडामा चलिरहेका छन् । कतिपय वडाहरुमा साबिकको गाविस का जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको तिला गाउँपालिकाकि उपाध्यक्ष गोरीकला बुढाले बताइन् । जनताका असिमित आवश्यकता लाई पालिकाको सिमित बजेटबाट सम्भव नहुने भएकोले क्रमिक रुपमा विकासलाई जोड्दै जाने उनले बताइन् । आर्थिक वर्ष २०८१÷०८२ मा वडा नम्वर ९ को प्रशासनिक भवन निर्माणका लागि ५० संघबाट बजेट प्राप्त भएको उपाध्यक्ष बुढाले जानकारी दिएकि छन् ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस