गिडिदहमा दुईवर्ष भित्र क्षेत्रफल सार्वजनिक देखी पदमार्ग र धर्मशाला निर्माण

जुम्लाको तातोपानी गाउँपालिकामा अवस्थित कर्णालीकै तेस्रो गहिरो ताल गिडिदहमा दुईवर्षभित्र क्षेत्रफल सार्वजनिक देखी पदमार्ग र धर्मशाला निर्माण भएको छ । गुमनाममा रहेको गिडिदहमा तातोपानी गाउँपालिका ४ को आयोजनामा २०७९ साल असोज ६ गते गते गिडिदह सम्मेलन भएको थियो । त्यस लगतै गिडिदहको प्रवद्र्धनमा जुटेको तातोपानी गाउँपालिका र ४ नम्वर वडाको सक्रियतामा यो तालको क्षेत्रफल समेत सार्वजनिक भइसकेको छ । गिडिदहमा पहिलो पटक ८४ जना सहित टोली पुगेर गिडिदह सम्मेलन गरिएको थियो । गिडिदह सम्मेलन पछि दुई वर्षभित्र गिडिदहमा थुप्रै प्रगति भएका छन् । तातोपानी गाउँपालिका वडा नम्वर ४ ले आज (शनिवार) पत्रकार सम्मेलन गर्दै गिडिदहमा दुईवर्षे प्रगति सार्वजनिक गरेको छ ।
गिडिदह सम्मेलन पछिका प्रगति
तालको नाँपजाँच
कर्णालीकै तेस्रो गहिराे ताल गिडिदहको नाँपजाँच भइ क्षेत्रफल सार्वजनिक भइसकेको छ । राष्ट्रिय ताल संरक्षण विकास समिति काठमाण्डौंको ५ लाख र तातोपानी गाउँपालिकाको ९ लाख गरि कुल १४ लाख बजेटमा काठमाण्डौं विश्वविद्यालयले नाँपजाँच गरि प्रतिवेदन सार्वजनिक गरिसकेको छ । नाँपजाँच प्रतिवेदन अनुसार गिडिदहको लम्बाई १ हजार ५ सय १० मिटर, चौडाई ३ सय १० मिटर र गहिराई ४२ दशमलव ८ मिटर रहेको छ ।
पदमार्ग/धर्मशाला निर्माण
पर्यटकलाई आवतजावतमा सहजताका लागि आर्थिक वर्ष २०८०÷०८१ मा गिडिदह धर्मशाला देखि पाटन सम्म ५ किमि ३ सय मिटर पदमार्ग निर्माण भएको छ । आर्थिक २०८०÷०८१ मा तातोपानी गाउँपालिकाको ७ लाख २५ हजार बजेटमा ५३ सय पदमार्ग निर्माण भएको तातोपानी ४ का वडा अध्यक्ष अमर रोकायाले बताए । पदमार्गका साथै अस्थाई प्रकृतिका काठेपुल समेत निर्माण भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको उनले जानकारी दिए । गिडिदहको धर्मशाला देखि पाटन सम्म उपभोक्ता समिति मार्फत पदमार्ग निर्माण भएको उनको भनाई छ ।
पदमार्ग निर्माणका लागि ७ लाख २५ हजारमा सम्झौता भएकोमा तातोपानी गाउँपालिकाबाट कामको अनुगमन पछि ५ लाख ६० हजार भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताएका छन् । यस्तै गिडिदह ताल छेउमा धर्मशाला, खानेपानी र शौचालय निर्माण गरिएको छ । कर्णाली प्रदेशको १५ लाख बजेटमा व्यवस्थित धर्मशाला निर्माण भएको हो । साथै १८ वटा स्थानमा सुचना पार्टीहरु राखिएका छन् ।
गिडिदहलाई पर्यटनमा जोड्न सडक निर्माणका लागि सडकको डिपिआर गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए । तातोपानी ४ गिडिखोलाको भलखोला, फुलचाउल्या हुदै लामाचौर सम्म सडक निर्माणका लागि २० किमि दुरिको सडक डिपिआर गरिएको अध्यक्ष चौंलागाईले बताए । उक्त सडकका लागि वातावरणीय प्रभाव मुल्यांकन आइइइ भइसकेर कर्णाली प्रदेशबाट स्विकृत हुन बाँकि रहेको अध्यक्ष चौंलागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस