तिला १ को सार्वजनिक सुनुवाईमा ‘रारा खानेपानीको’ चर्चा

जुम्लाको तिला गाउँपालिका वडा नम्वर १ को आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । तिला गाउँपालिका वडा नम्वर १ को आयोजना र भेरीखोला मल्टिप्रपोज मिडिया प्रा.ली. को समन्वयमा आर्थिक वर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा रारा गाउँमा खानेपानी अभावको सवाल पेचिलो ढंगले उठान भएको छ । एकमात्र विशाल बस्ती रारा गाउँ मात्रै रहेको तिला १ मा अन्य विकास निर्माणको अवश्था सन्तोषजनक रहेपनि खानेपानी भने यहाँको प्रमुख समस्याको विषय रहेको छ ।
तिला १ कि वडा सचिव मिमकोसा रोकायाले चालु आर्थिक वर्षभित्र ३७ लाख बजेटको सिमा भित्र रहि विकास निर्माण भएको बताइन । सडक स्तरउन्नती, मठमिन्दर तथा विद्यालय भवन मर्मत र सितानगर खानेपानी निर्माण भएको उनले बताइन । तिला १ का स्थानीयले भने रारामा खानेपानी पुर्याउन जोड दिएका छन् । अन्य सामाजिक तथा भौतिक प्रगति सन्तोषजनक भएपनि रारामा युगौंदेखिको खानेपानीको समस्या जस्ताको तस्तै रहेको स्थानीय नौसेर रावतले गुनासो गरे । ठूलो गाउँमा खानेपानीकै कारण पटक पटक झैझकडा हुने गरेको उनले बताए ।
स्थानीय गोर्ख बस्नेतले पञ्चायतताका बनेका सिमित धाराबाट जेनतेन पानी खाइरहेकोले संंघियताको आभास हुन नसकेको गुनासो गरे । काकाकुल रारामा पिउन समेत पानी अभाव हुन्छ । सरपसफाई त टाढाको कुरा हो । नागरिकको नजिकको सरकार स्थानीय तहले तत्काल रारामा खानेपानी पुर्याउनु पर्ने उनले बताए । खानेपानी अभावले राराबासीले निकै कष्ट झेल्नुपरेको उनले बताए । यस्तै गोइली बुढाले चालु आर्थिक वर्षको बजेटमा महिला लाभान्वित हुन नसकेको गुनासो गरिन् ।
तिला १ का वडा अध्यक्ष जंंग बहादुर बस्नेतले रारा खानेपानीका लागि चालु आर्थिक वर्षमा झण्डै २ करोड बजेटमा सामान खरिद हुने बताए । यस्तै आगामी आर्थिक वर्षमा संघबाट १ करोड ५० लाख र पालिकाबाट ५० लाख बजेट बिनियोजन गरि खानेपानीको बाँकि काम अगाडि बढाइने बताए । आगामी ३ वर्षभित्रै रारामा खानेपानी पुर्याृउने लक्ष्य रहेको वडा अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस