
कर्णालीमा आर्थिक तथा सामाजिक विकासमा सरकारी तथा गैर सरकारी निकाय महत्वपुर्ण साझेदारको रुपमा रहेको पाइन्छ । समाज परिवर्तन र रुपान्तरणका विभिन्न संघ संस्थाले काम गर्दै आएका छन् । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागी सहकार्य (क्याड) नेपालले जुम्लामा बालविवाह न्युनिकरणका लागि अन्तरपुस्ता संवाद कार्यक्रम चलाइरहेको छ ।
जुम्लाका ८ वटा स्थानीय तह मध्ये सिंजा क्षेत्रका ३ पालिकामा बालविवाह न्युनिकरणका लागि अन्तरपुस्ता संवाद कार्यक्रम चलाइएको क्याड नेपाल जुम्लाका संयोजक गिरीराज अधिकारीले बताए । ‘बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि अहिले जुम्लाका स्थानीय तहमा अन्तरपुस्ता कार्यक्रमलाई अगाडि सारिएको छ । तीन पुस्ता सहभागी कार्यक्रममा विगतका भुलबाट पाठ सिक्दै नयाँ पुस्तालाई बालविवाह विरुद्ध लाग्न प्रेरित गर्ने तथा सभ्य समाज निर्माणमा सघाउ पुर्याउने यो कार्यक्रमको उदेश्य हो ।’ उनले भने ।
हिमा गाउँपालिका ६ कि ६६ वर्षिया हाजिरा कामिले सानै उमेरमा विवाह गर्दा स्वास्थ्य अवश्था बिग्रेको बताउदै आगामी पुस्तालाई परिपक्व उमेरमा विवाह गर्न सुझाव दिइन । गाईबाख्रा चराउदै बाल्यकाल बिताएकि उनले चेतनाको अभाव र अभिभावकको दबाबमा सानै उमेरमा विवाह गर्दाे स्वास्थ्य अवश्था बिग्रदै गयो । अहिले अस्पताल औषधि उपचार गर्न जाँदा अस्वस्थ हुनुमा कम उमेरमै विवाह विवाह गर्दाको परिणाम हो भन्ने पत्तो पाइन । त्यसैले अहिले नयाँ पुस्तालाई उपयुुक्त उमेरमा विवाह गर्न प्रेरित गरिरहेकि छन् । ‘हाम्रो पालामा स्कुल थिएनन्, लेखापढी हुन्थेन, सिकाउने र सम्झाउने कोहि पाएनौं, कति दिदि बहिनिले लहैलहैमा लागेर कलिलै उमेरमा विवाह गरिन, अहिले सबै थोक आयो तर बालविवाह घटेको छैन ।’ उनले भनिन् ।
यस्तै १९ वर्षमा विवाह गरेकि मध्यम पुस्ताकि रञ्जना बुढाले बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीहरुलाई सम्झाउने गरेकि छन् । अहिले बालविवाह जस्ता हानीकारक चलनबारे सचेतनात्मक क्रियाकलाप सञ्चालन भइरहेकोले यसबाट अभिभावक र किशोर किशोरीले शिक्षा लिनुपर्ने उनको तर्क छ । युवा रमेश रावत जब सम्म परम्परागत हानिकारक अभ्यास अन्त्य हुदैनन् तब सम्म सामाजिक विकासले गति नलिने बताउन्छन्। साँस्कृतिक पक्ष सभ्य नभएसम्म विकास र समृद्धि अधुरो हुने उनले बताए। बढ्दो टेक्नोलोजीको प्रयोगलाई व्यवस्थित बनाउन नसके बालविवाह लगाएतका विकृति झांगिदै जाने युवा रावतले बताए ।
यस्तै कनकासुन्दरी गाउँपालिका वडा नम्वर ४ हाड सिंजाका खेम बहादुर सिकर्मीले अन्तरपुस्ता संवाद कार्यक्रममा उनले १७ वर्षको उमेरमा विवाह गरेको सुनाए । उनकि श्रीमती त्यतिबेला १३ वर्षकि थिइन् । अहिले उनको पहिलो सन्तान जन्मिसकेपछि श्रीमतीको पाठेघरमा समस्या देखिएको छ । किशोर किशोरीलाई उनले आफ्नो समस्या सुनाउदै भुलेर पनि बालविवाह नगर्न सुझाव दिए ।
हिमा ६ का कार्यबाहक वडा अध्यक्ष चक्र बहादुर शाहीले कानुनले अपराध मानेको बालविवाह रोक्न सबै जुट्नुपर्ने बताए । समाजका तीन तहका पुस्ता बिचको अन्तर संवादले विगतका समस्या बाट भविष्यमा योजना बनाउने र बालविवाह विरुद्ध साझा रुपमा जुट्न प्रेरित गर्ने वातावरण बनेको उनले बताए ।