
जुम्लाको तातोपानी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले २ वर्षे कार्यप्रगति सार्वजनिक गरेका छन् । स्थानीय तहको दोस्रो निर्वाचनबाट जनताको अभिमत लिएर गाउँपालिकामा आएका जनप्रतिनिधिले दुई वर्षे कार्यप्रगती सार्वजनिक गरेका हुन । तातोपानी मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष रेवती रावल र तातोपानी ६ का वडा अध्यक्ष विशाल खड्काले सार्वजनिक गरेको कार्यप्रगति अनुसार पालिकामा न्याय निरुपण देखि वडामा रोजगारी सिर्जनका काम भएको छ ।
उपाध्यक्ष रेवती रावलको कार्यप्रगतिः
तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा गरि पालिकामा १९ वटा उजुरी दर्ता भएकोमा ८ वटामा मिलापत्र गरिएको बताएकि छन् । न्यायिक संयोजकको अधिकारमा टेकेर निवेदनहरुको छिटो छरितो टुंगो लगाउन अधिकम् प्रयास भइरहेको उपाध्यक्ष रावलले बताइन ।
यस्तै विपन्न छात्रालाई उच्च शिक्षा पढाउन समेत पहल गरेको उनले बताइन् । तातोपानीका २ जना छात्रालाई उच्च शिक्षा पढाउन पहल गरेको उपाध्यक्ष रावलले जानकारी दिएकि छन् । बालवालिकालाई पोषणमैत्री खानाको व्यवश्थापन गर्नुका साथै कुपोषित बालवालिकाको सुधारका लागि काम गरेको उनको दावी छ । चालु आर्थिक वर्षमा पोषण केन्द्र स्थापना गरेको समेत उनले जानकारी दिएकि छन् । आर्थिक वर्ष २०८०÷०८१ म ३७ जना कुपोषित बालवालिका भर्ना भएकोमा ३३ जना बालवालिकामा सुधार भइसकेको र ५ जनाको अवश्था सुधारउन्मुख रहेको उनले बताएकि छन् ।
कृषि क्षेत्रमा उपाध्यक्ष कार्यक्रमबाट चालु आर्थिक वर्षमा ९६ गर्भवती महिला तथा कुपोषित बालवालिका कृषि सामाग्री र बिउ बिजन वितरणबाट लाभान्भित भएको उपाध्यक्ष रावलले जानकारी लिइन ।
तातोपानी ६ का अध्यक्ष विशाल खड्काको कार्यप्रगतिः
तातोपानी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष विशाल खड्काले युवापिँढीलाई रोजगारी सृजनमा जोड दिएको बताएका छन् । यसको लागि तातोपानी गाउँपालिका ६ हिँयाखोलामा स्वीटर उद्योग र वडा स्तरीय पोल्टी फर्म स्थापना गरिएको उनले बताएका छन् । स्थापित उद्योग र पोल्टीफर्मको समुचित व्यवश्थापन बाट ५० जना स्थानीय रोजगारीमा जोडिने लक्ष्य राखिएको वडा अध्यक्ष खड्काले बताए ।
चालु आर्थिक वर्षमा १६ जनालाई ड्राईभिङको तालिम दिइने उनले बताए । तातोपानी ६ भित्रका ६ वटा बस्ती मध्य ५ वटामा एक घर एक धारो विस्तार गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिएका छन् । वडा कार्यालयको आफ्नै भवन नहुँदा चुनौतीका साथ कार्यसम्पादन भइरहेको हुँदा अहिले दुइ तले वडा भवन निर्माण भइरहेको उनले बताए । राजनितिक प्रतिशोधका कारण काममा बाधा भइरहेको उनको गुनासो छ । विकास, समृद्धि र सुशासनका लागि सबै साझा रुपमा लाग्नुपर्ने उनको भनाई छ ।