
बालविवाह न्युनिकरणका लागि जुम्लाकाे हिमा गाउँपालिका वडा नम्बर ६ काे पाथरखाेलामा अन्तरपुस्ता कार्यक्रम गरिएकाे छ। सामाजिक विकृति विरुद्धको अभियानमा सक्रिय गैरसरकारी निकाय क्याड नेपालकाे आयाेजनामा बालविवाह न्युनिकरणका लागि अन्तरपुस्ता संवाद कार्यक्रम चलाइएकाे हाे। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि अहिले जुम्लाका स्थानीय तहमा अन्तरपुस्ता कार्यक्रमलाई अगाडि सारिएको छ। तीन पुस्ता सहभागी कार्यक्रममा विगतका भुलबाट पाठ सिक्दै नयाँ पुस्तालाई बालविवाह विरुद्ध लाग्न जेष्ठ नागरिकहरुले सुझाएका छन्।
६६ वर्षिया हाजिरा कामिले सानै उमेरमा विवाहगर्दा स्वास्थ्य अवश्था बिग्रेको बताउदै आगामी पुस्तालाई परिपक्व उमेरमा विवाह गर्न सुझाव दिइन। गाई-बाख्रा चराउदै बाल्यकाल बिताएकि उनले चेतनाकाे अभाव र अभिभावककाे दबाबमा सानै उमेरमा विवाह गरेकि उनकाे स्वास्थ्य बिग्रदै गयाे। अस्वस्थ हुनुमा कमै उमेरमै विवाह हाे भन्ने पत्ताे पाइन। अहिले नयाँ पुस्तालाई उपयुुक्त उमेरमा विवाह गर्न प्रेरित गरिरहेकि छन्।
यस्तै १९ वर्षमा विवाह गरेकि मध्यम पुस्ताकि रञ्जना बुढाले बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीहरुलाई सम्झाउने गरेकि छन्।
अहिले बालविवाह जस्ता हानीकारक चलनबारे सचेतनात्मक क्रियाकलाप सञ्चालन भइरहेकाेले यसबाट अभिभावक र किशाेर किशाेरीले शिक्षा लिनुपर्ने उनकाे तर्क छ। युवा रमेश रावत (विक्रान्त सी) जब सम्म परम्परागत हानिकारक अभ्यास अन्त्य हुदैनन् तब सम्म सामाजिक विकासले गति नलिने बताउन्छन्। साँस्कृतिक पक्ष सभ्य नभएसम्म विकास र समृद्धि अधुराे हुने उनले बताए। बढ्दाे टेक्नोलोजीकाे प्रयाेगलाई व्यवस्थित बनाउन नसके बालविवाह लगाएतका विकृति झांगिदै जाने युवा रावतले बताए ।
हिमा ६ का कार्यबाहक वडा अध्यक्ष चक्र बहादुर शाहीले कानुनले अपराध मानेकाे बालविवाह राेक्न सबै जुट्नुपर्ने बताए । समाजका तीन तहका पुस्ता बिचकाे अन्तर संवादले विगतका समस्या बाट भविष्यमा याेजना बनाउने र बालविवाह विरुद्ध साझा रुपमा जुट्न प्रेरित गर्ने वातावरण बनेकाे उनले बताए ।