२१ किमिकाे रन फर युनिटिमा जुम्लाका दल बहादुर कुँवर प्रथम

दाैडमा दल बहादुरकाे दबदबा

नेपाली सेनाको आयोजनामा सुर्खेतमा सम्पन्न ‘रन फर युनिटी’ मा जुम्लाका धावक दलबहादुर कुँवर प्रथम भएका छन । जुम्ला तातोपानी ७ सर्मीका कुँवरले २१ किलोमिटर दौडतर्फ एक घण्टा आठ मिनेटमा दुरी पूरा गरेकाे प्रशिक्षक हरि राेकायाले नयाँ कर्णालीलाई जानकारी दिए।
पछिल्लाे समय म्याराथन क्षेत्रमा दल बहादुरकाे दबदबा कायमै छ। यस्तै, द्वितीय सन्तोषनाथ योगी भए । उनले २१ किलोमिटरको दुरी एक घण्टा ११ मिनेटमा पुरा गरे भने तृतीय भएका आशिष गुरुङले एक घण्टा १२ मिनेटमा पूरा गरेका थिए ।
१० किलोमिटर पुरुष र पाँच किलोमिटर महिलातर्फ जुम्लाबाट सहभागी धावकले उपाधि हात पार्न सफल भएका थिए । १० किलोमिटर पुरुषतर्फ जुम्लाका वीरबहादुर रोकाय प्रथम भए । १० किलोमिटरको दुरी ३१ मिनेट चार सेकेण्डमा पूरा गरे । द्वितीय भएका सन्तोष नेपालीले ३२.०७ मिनेटमा पूरा गरे भने तृतीय भएका अक्कल बुढाले ३२.४४ मिनेटमा पुरा गरे ।
पाँच किलोमिटर छात्रातर्फ जुम्लाकी कल्पना बुढाले पाँच किलोमिटरको दुरी १९ मिनेट ३ सेकेण्डमा पुरा गरेर प्रथम भइन् । द्वितीयमा विमला कार्कीले १८ मिनेट २१ सेकेण्ड र तृतीय उर्मिला खनालले पनि समान समयमा दुरी पार गरेकी थिइन् ।
छात्र पुरुषतर्फ अजय विक प्रथम भए । उनले १५ मिनेट ३० सेकेण्डमा दुरी पुरा गरे । द्वितीय दीपेन्द्र बोहराले १६ मिनेट २० सेकेण्ड, तृतीय भएका सुजन विकले १६ मिनेट २० सेकेण्डमा दुरी पार गरे । १० किलोमिटर महिलातर्फ आशा रावल पहिलो भइन् । उनले ३७ मिनेट २८ सेकेण्डमा दुरी पार गरिन् ।
द्वितीय समिता बुढाले ३७ मिनेट ३३ सेकेण्ड र तृतीय भएकी राज्यलक्ष्मी रावलले ३९ मिनेटमा दुरी पार गरिन् ।
पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, पाँच हजार र तीन हजार, १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
२१ किलोमिटर दौडमा प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतीय १५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। दौड प्रतियोगिताका विभिन्न विधामा जुम्लाका धावकहरुले सफता हासिल गरेको उत्तरपश्चिम पृतनाका पृतनापति कृष्णदेव भट्टले बताए ।
नेपाली सेनाले सैनिक सामग्री तथा फोटो प्रदर्शनीको पनि आयोजना गरेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा र ओलम्पियन हरिबहादुर राकायलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस