खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च ‘फुटबल’को उत्सव जुम्लामा सुरु हुदैछ । हिमाली जिल्ला जुम्लामा फागुन १५ देखि कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु हुने भएको छ । जुम्ला जिल्ला फुटबल संघको आयोजनामा जुम्लामा पहिलो पटक कर्णाली प्रदेशका दश वटै जिल्ला सम्मेलित प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यहि फागुन १५ देखि १९ गते सम्म सञ्चालन हुने छ । आगामी वर्ष कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको फुटबल टिम जुम्लामा हुने खेलबाटै छनोट हुने जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए ।
जुम्लाको सन्दर्भमा फुटबल लगाएतका खेल क्षेत्रमा लगानी कम भएतापनि खेलाडी र खेलप्रेमिको लगाव भने कम छैन । जुम्लामा फुटबललाई लोकप्रीय खेलका रुपमा लिइन्छ । विगतका जिल्ला स्तरीय खेलमा दर्शकको उलेख्य उपस्थिति यसको प्रमाण हो । कलामिश्रित सरल खेल भएरै होला, फुटबल बुझ्न कुनै भाषाको जरुरी छैन । खेलका अगाडि भाषा, रङ र भूगोल तपसिल ठहरिन्छ । त्यसैले सारा जुम्ला एउटै आवेग, संवेग र समानुभूतिका साथ फुटबलमा समर्पित भएको देखिन्छ । जुम्लाबासी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको व्यग्र प्रतिक्षामा छन् ।
विगतका जिल्ला स्तरीय खेलमा भएका विवाद्, खेल संरचनाको अभाव जस्ता विषयले कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिता जुम्लामा हुनु चुनौतिको विषय हो, तर यो जुम्लालाई फुटबलका क्षेत्रमा भविष्यको सुनौलो गोरेटो बनाउने अवशर पनि हो । फुटबल खेलका दौरान खेलाडीबीच हुने धक्का–मुक्का, चोट र वैमनस्यता, चितुवा गतिमा बल नियन्त्रणका लागि मैदान चहार्नुपर्ने खेलाडीबीच हुने कतिपय धक्का–मुक्का चाहिँ स्वाभाविक रूपमा लिनुपर्ने यस क्षेत्रका जानकार बताउन्छन् । फुटबल मोह जुम्लीको रगतमै घोलिइसकेको प्रतीत हुन्छ तर प्रथमतः खेल संस्कृति जनस्तरमा घोलिनुपर्ने हुन्छ ।
फुटबलको मैदानमा दुई पक्षका बलशाली खेलाडीले आफ्ना लागि सही अवसरको खोजी गर्दा कसैको टाउको ठोकिन्छ, कसैका गोडा जुध्छन्, कसैको कपडा तानिन्छ । यतिसम्म चाहिँ दर्शकलाई नियतवस लाग्दैन । तर जब खेलाडी भौतिक आक्रमणमै उत्रन्छ, उसको खेल कौशल र अनुशासन माटोमा बिलय हुन्छ । खेलाडी र दर्शक संयमित भएर खेललाई आत्मसात गर्नुपर्ने खेल प्रेमी युवा जनक रावत बताउन्छन् । जुम्लामा हुने छनोट प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी सहभागिता रहने एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढथापाले बताए । प्रत्येक जिल्लाका सहभागी टिममा १५ खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरि १७ जनाको टोली हुने अध्यक्ष बुढ्थापाले बताए ।
जुम्लाको फुटबल टिम यतिबेला बन्द प्रशिक्षणमा छ । निस्पक्ष र विधिपुर्वक जुम्लाको टिम छनौट गरिएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले बताए । ‘फुटबलमा जितको इतिहास भनेको त हौसला जोगाइराख्ने पुलिन्दा मात्र न हो । हारको इतिहास अनुभव संगाल्ने अवशर हो । असली नायकत्व त मैदानमा हुने ताजा भिडन्तमा मात्र निर्माण हुन्छ । यस पटक जुम्लाको टिमले पनि आफ्नो क्षमता देखाउने छ । बाँकी नतिजा हेर्न खेल कुर्र्नै पर्छ ।’ जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले भने । फागुन २० देखि २६ गतेसम्म प्रदेश स्तरीय रेफ्री तालिम समेत हुने भएको छ । कर्णाली प्रदेशमै रेफ्री उत्पादन गर्ने हिसाबले रेफ्री तालिम समेत आयोजना गरिएको संघका महासचिव हमालले जानकारी दिए ।
खेलाडीले वैयक्तिक कला उद्घाटन गर्ने रङ्गमञ्च ‘फुटबल’
जुम्लामा कर्णाली प्रदेशस्तरीय पूरुष फुटबल प्रतियोगिता हुदै
प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस