प्रकृतिको अनुपम सिर्जना ‘रारा’

राराको प्रचारमा नथाक्ने राज्य सँग यहाँका नागरिको दुख कष्टको हिसाब छैन

रारा, डाँडै डाँडाको बिचमा अकल्पनीय पानीमय उपत्यका । दिन ढल्दै गर्दा सुर्यको प्रकाशको चमकमा राराले आफ्नो रुप बदल्दै छ, अनि हावाको वेगमा गति । पानीको छाल यति तेज छ कि कर्णालीको भेल जस्तै राराका छालहरु किनारामा मस्ति मारिरहेका छन् । बिहान ७ बजे बाट चलेका डुँगाहरु दिउसो १२ बज्दा किनारमा तैरिदैछन् । सन्तोष कुमार मल्लको डुँगापनि किनारमा आइपुग्यो । ‘बिहानै बाट डुँगा चल्छ, ४५ मिनेट घुमाएको ५ सय रुपैँया लिन्छौं, तिन किलोमिटर दुरी पार गर्दै अर्को किनार सम्म पुगिन्छ ।’ उनले भने । रारानेपालकै ठूलो ताल, जसले आफ्नो गर्भमा असिमित सम्भावना छिपाएको छ । सबैले कर्णालीमा समृद्धिको ढोका राराले खोल्छ भनिरहेका छन् । तर स्वर्गकि अप्सरा उपनाम पाएको राराको पर्यटनबाट यहाँका स्थानीयले लाभ लिन भने सकिरहेका छैनन् ।
सरकारका पर्यटन मन्त्रालय, बिभाग र पर्यटन बोर्डहरु प्रचारप्रसारको नाममा महोत्सव, भ्रमण बर्ष, गन्तव्य बर्षको रुपमा बार्षिक बजेट बिनियोजन गर्न निकै रुचाउन्छन । तर रारा जस्ता रमणीय र मनोरम प्राकृतिक सम्पदा भएर पनि दुख कष्टको जीवन बिताउने कर्णाली बासीका पिडा र वेदना कति छन् भन्ने राज्य सँग हिसाब छैन । प्रकृतिको अनुपम उपहार रारालाई स्वर्गकी अप्सरा सँग दाँज्ने गरिन्छ । २ हजार ९ सय ७२ मिटर उचाईमा अवस्थित राराको लम्बाई ५ किमि, चौडाई ३ किमि र गहिराइ १६७ मिटर रहेको छ । प्रकृतिको अनुपम उपहार रारामाहवाई, यातायात र पैदल सबै माध्यमबाट पुग्न सकिन्छ ।
रारा पुग्ने पर्यटकका लागि खष भाषा र सभ्यताको जननी जुम्ला सिंजा उपत्यका, भोजपत्र, निगाले सहितको कोणधारी जँगल, हिमाली बन्यजन्तु थप आर्कषणका विषय हुन् । मुगु सदरमुकाम गमगढी बाट चंखेली हिमाल देख्न सकिन्छ, जुन एक रुपैंयाको नोटमा अंकित छ । राराको सग्लो रुप हेर्न भने घोडामा चढेर मुर्माटप जानुपर्ने स्थानीय रमिला बुढाले बताइन । ‘मुर्माबाट सिंगो ताल हेर्न सकिन्छ, वर्षायाममा भने रारालाई कुहिरोले छोप्छ, घाम लागेको दिन रारा नियाल्न सकिन्छ ।’
प्रतिकूल भौगोलिक बनाबट र भौतिक संरचना अस्तव्यस्त हुँदा यातायात र हवाई मार्ग प्रभावित भइरहन्छ, जसले प्रचुर सम्भावना बोकेको रारा मौसमी पर्यटकीय गन्तव्य मात्रै बनेको छ । अटल, स्वच्छ र सुन्दरताले भरिपूर्ण रारा भएर पनि मुगु बासी अशिक्षा, गरिबी, रोग, भोक, रुढिवादी, पछौटेपनको सिकार भइरहेका छन् ।
कर्णालीको व्यथा स्थानीय कलाकार आफ्नो ठाडिभाकामा यसरी सुनाउन्छन्,
देखिदो घाउ छैन, शरिरलाई सञ्चो छैन…….
खोल्यास माउ छैन, को बैरीले चल्ला लैगो……
सन् २००८ मा पर्यटन बोर्डले रारा महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए । तर व्यवस्थित मोटरबाटो र भरपर्दो हवाइमार्ग नभएपछि पर्यटकहरुमा खासै वृद्धि भएन । राराले मुगु बासीको आर्थिक जीवनमा खास्सै अवसर दिएको छैन । मुगु बासी सँग नेपालकै ठूलो ताल रारा मात्रै छैन, दुख कष्टका भारी पनि साना छैनन् । सरकारले बार्है महिना पर्यटक पुग्ने वातावरण सिर्जना गरिदिनु पर्ने स्थानीयको माग छ । ‘हामी सँग यति विशाल ताल रारा छ, तर हाम्रा दुख कष्टका भारी पनि साना छैनन्, स्वर्गको काखमा नर्कको जीवन जीउदा राज्य बेखबर छ ।’ स्थानीय रमेश विकले गुनासो पोखे ।
राराको पर्यटनबाट स्थानीयले कसरी लाभ लिन सक्छन्? भन्ने प्रश्नमा छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम भन्छन्, ‘छाँयानाथ रारा नगरपालिका का स्थानीयलाई पर्यटनमा जोड्न होमस्टेमा अनुदान र तालिमको व्यवश्था गर्ने निति बनाइएको छ, यतिले पुग्दैन, संघ र प्रदेश सरकारले चासो दिएको पाइदैन ।’ रारा नेपालै गौरव हो । रारा लक्षित पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबर्धनमा टेवा पुर्याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय आवश्यक छ । सम्भावनालाई उपयोग गर्ने नीति जरुरी रहेको कर्णालीबासी बताउन्छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस