
मेलापातमा निस्कदा होस्, या गोठालो जाँदा, जुम्ला पातारासी ३ तल्फी गाउँकी रुपा बुढा आफ्नो सुरिलो स्वरमा गाउन थालिहाल्छिन् । शाहेद जीवनकै सपना भएर होला, एकान्तमा पुग्नासाथ गीत गाउने हतार हुन्छ, उनलाई । घाँस दाउरा गर्न जाँदा सल्ला, धुपी र भोजपत्रका घना जँगल उनको स्वरले गुञ्जायमान हुन्छ । सुसाउदै बग्ने जँवा नदिको किनारका खेतबारीमा गीत गाउँदै बितिरहेको छ, रुपाको दैनिकि । जवाँ आफ्नै शुर र वेगमा बगिरहेको छ, अनवरत, अविरल । अनि रुपाको स्वर मिसिन्छ, सुसाउदै बग्ने जवाँको संगितमा ।
कहिले काँहि आफ्नो गीतका भिडियो फुटेज फेसबुकको रिल्स र स्टोरीमा पनि राख्ने गर्छिन । पहिले उनको प्रतिभा देखाउने साथी बनेको थियो, टिकटक । लुकेको प्रतिभा देखाउने माध्यम बनेको टिकटक ब्याण्ड भएपछि भने अहिले फेसबुकलाई आफ्नो कला प्रस्तुत गर्ने माध्यम बनाएकि छन् । गाउँबस्ती, उकाली ओराली, भञ्याङ चौतारी जहाँ जस्तोसुकै परिस्थितिमा पनि गीत गाउन सुरु गर्नुको पछाडि रुपाको एउटा आशा लुकेको छ– आफ्नो गायन सुनेर कसैले सानैदेखिको सपना साकार पार्न सहयोग गर्छन् कि भन्ने । उनको स्वरमा गीत सुन्नेहरु तारिफ गर्दै ‘गायन क्षेत्रमा चम्किलो भविष्य छ, प्रयास गर ।’ भनेर हौसला दिने गर्छन ।
नयाँ कर्णालीले प्रतिभा पहिचानको श्रृङ्खला चलाइरहेको छ । नयाँ कर्णाली डिजिटल पत्रिकामा आफ्नो प्रतिभा प्रष्टफुटन गर्न जुम्ला खलंगा झरेकि रुपाले भनिन्, ‘जीवन भनेजस्तो, सोचेजस्तो कहाँ हुँदोरहेछ ।’ ‘रहर गरेर मात्र केही नहुँदोरहेछ । परिस्थिति र समयको गति अनुसार चल्नुपनि जीवन रहेछ ।’ उनको आवाजमा गीत सुन्ने कतिपयले त तुरुन्तै काठमाडौं गएर गीत रेकर्ड गराउन पनि सल्लाह दिन्छन् । स्रोताबाट पाएको सकारात्मक प्रतिक्रियाले रुपामा उत्साह त आउँछ, तर अवशर जुरेको छैन । लोकभाका, ठाडिभाका, देउडा, दोहोरी, आधुनिक, पप विधाका गित गाउदा रुपाको स्वर सुन्ने जति सबै मन्त्रमुग्ध हुने गर्दछन् ।
उनले पातारासीकै तल्फी गाउँमा विवाह गरेकि छन् । दुई सन्तानकी आमा बनेकि रुपाको गित गाउने इच्छा भने अझ बढेको छ । तर आर्थिक अवश्था उनको लागि बाधक बनेको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण उनको प्रतिभा देश दुनियाँले चिन्न नसकेको उनका आफन्तहरु बताउँछन्। । उनको प्रतिभा आफूभित्रै सीमित रहन पुगेको छ । गरीबीकै कारण रुपाको कलालाई अगाडि बढाउन नसकिएको उनकि फुफु चाँदनी खड्काले बताइन ।
रुपाले अवशर पाए जिल्लाकै होइन, नेपालकै एक गहनाको रुपमा स्थापित हुनसक्ने स्थानीय भक्त बहादुर बुढाले बताए । उचित अवसर पाएमा कृष्णाको पनि सपना साकार हुने र जिल्लाको पनि नाम हुनेमा उनको विश्वास छ । गरीब घरपरिवारमा हुर्किएकी रुपा आर्थिक अभावकै कारण पछि परेको उनको भनाइ छ । ‘गाएनमा मेरो बाल्यकालदेखिको रुची हो, गाउन त सक्छु तर के गर्नु ? यो पैसाको युग रहेछ । यदि हाम्रो घरको आर्थिक अवस्था राम्रो भएको भए अहिलेसम्म गायिका पो बनिसकेकी हुन्थे कि !’, रुपाले भनिन् ।
२०५७ सालमा जुम्ला पातारासी गाउँपालिका ५ लासीमा जन्मेकि रुपाले गाउँ छेउको ऋणमोक्ष माद्यमिक विद्यालयबाट कक्षा १२ सम्म पढेकि छन् । घरकी जेठि सन्तान रुपाले विद्यालयमा पढ्दा रेडियोका सांगितिक कार्यक्रममा समेत गित गाउने गर्थिन । त्यति बेलादेखि नै मैले गाउनसक्छु भन्ने थाहा पाएका हुँ, त्यस बेलादेखि नै हौसला पाउँथे । त्यसपछि गाउनमा रुचि पनि बढेको हो।’ रुपाले सुनाइन् ।
‘विपन्नतामा गुज्रिएको जिन्दगी सम्झँदा पनि मन सारै दुख्छ, चाहेर पनि आफ्नो सपना पूरा गर्नसक्ने अवस्थामा छैन्’, उनी भावुक भइन्,। नेपालमा लुकेका प्रतिभा पहिचान गर्ने विभिन्न रियालिटि शो हरु पनि छन् । तर के कसरी सहभागिता जनाउने भन्ने मेसोे नपाउदा रुपालाई समस्या परिरहेको छ । उनलाई गायिका बन्न सघाउने भनी आश्वासन त धेरैले दिए तर कसैले पनि वास्तवमा सहयोग गरेका चाहिँ छैनन् । उनले भनिन्, ‘उचित अवशर पर्खिरहेकि छु, मौका मिलेको भए, गायनमा करिअर बनाउने थिँए ।’