हाँकु लाग्ना टावरमै पुग्यो विद्युत, २४ सै घण्टा सेवा सुचारु

तातोपानी ४ काे दिगाे व्यवस्थापन

ठिक एक वर्ष अघि ‘बादलझप्प, टावर ठप्प’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ४ को हाँकु लाग्नामा रहेको एनटिसि मोवाइल टावरमा बादल लाग्ना साथ नेटवर्क गायब हुने समस्या थियो । अहिले अवश्था फेरिएको छ । तातोपानी ४ हाँकु लाग्नामा रहेको एनटिसि टावरमा विद्युत पुगेपछि दर्जन बढी गाउँ २४ सै घण्टा सञ्चारको पहुँचमा पुगेका छन् ।
समुन्द्रि सतहबाट २ हजार ८ सय ५० मिटर उचाईको हाँकु लाग्ना टावरमा गिडिखोलाको जाल्पादेवी विद्युत सहकारीबाट विद्युत पुगेपछि तातोपानी भित्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगाएतका गाउँमा दिन रात सञ्चारको सुविधा पुगेको हो । जम्मा १५ लाख बजेटमा हाँकु लाग्नामा विद्युत पुर्याएपछि दर्जनौं गाउँमा सञ्चारको सास्ती हटेको तातोपानी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष अमर रोकायाले जानकारी
‘गत वर्ष पुसमा लाग्नाको टावरमा दिगो विद्युत व्यवश्थापनको लागी जिल्ला प्रशासन मार्फत नेपाल टेलिकम दुर सञ्चार कार्यालयको ध्यानार्कषण गराएका थियौं, अहिले पनि टावरको कुरा सम्झदा बादल झप्प, टावर ठप्प भन्ने समाचार को झल्को आउँछ, यो वर्ष विद्युत पुर्याउन सफल भएका छौं, नागरिकको सञ्चार सास्ती हटेको देख्दा सन्तुष्टि मिलेको छ, यो हाम्रो कर्तव्य पनि हो ।’ वडा अध्यक्ष रोकायाले भने । जुम्ला भित्र यति उचाईका टावरहरुमा विद्युत पुगेको हाँकु लाग्ना टावर पहिलो भएको अध्यक्ष रोकायाले बताए । सञ्चार अहिलेको प्रधान विषय भएकोले वडाको समस्या समाधानका लागि निरन्तर खटिएपछि सफलता मिलेको वडा अध्यक्ष रोकायाको भनाई छ ।
तातोपानी गाउँपालिका ४ को ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको ९ लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा विद्युत टावर सम्म पुर्याइएको अध्यक्ष रोकायाले जानकारी दिए । यो टावरले गिडिदह जाने बाटो र पानपय पाटनमा समेत नेटवर्क टिप्ने छ । टावरमा ल्याइएको विद्युत लाइनमा मष्टो आधारभूत विद्यालय नजिक ट्रान्सफर्मर राखिएको छ । लाग्नाको टावर सम्म एक किलो मिटर दुरि भित्र २५ वटा एलपी पोल गाडिएको जाल्पादेवी विद्युत सहकारी का व्यवश्थापक जय प्रसाद गौतमले बताए । ‘वडाको ६ लाख बजेटमा गत वर्ष काम भयो, बाँकी रहेको काम टेलिकमको बजेटमा यो वर्ष सम्पन्न भएर मंसिर २९ गते बेलुका बत्ति टावरमा पुगेर २४ सै घण्टा टावर सुचारु भएको छ ।’ उनले भने ।
टावरमा विद्युत पुगेपछि मोवाईलमा नेटवर्क भित्र्याउन डाँडा चढ्नुपर्ने र, घाम पर्खनुपर्ने बाध्यता अन्त्य भएको नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख सुर्य प्रकाश यादवले बताए । सोलारबाट दिगो समय टावर सञ्चालन नहुने भएपछि नागरिकले पाउदै आएको सास्ती अहिले विद्युत पुगेपछि अन्त्य भएको उनले बताए । उनि भन्छन्, ‘अब बादल लागेपनि, हिउँपरेपनि लाग्ना टावरको सेवा क्षेत्रभित्र जब सम्म विद्युत अवरोध हुदैन, तव सम्म टावरको दुख हुने छैन । यद्यपी प्राविधिक समस्या बाहेक ब्याकमपको चिन्ता छैन ।
टावरको प्राविधिक क्षेत्रमा हेरफेर गर्न हाँकु लाग्ना पुगेका टेक्नेसियन नन्दराम बोहोराले टावरबाट फोनको नेटवर्क सँगै टु जी र फोर जी डाटा समेत चल्ने बनाइएको बताए । २०७७ सालमा निर्माण भएको हाँकु लाग्ना टावरमा घाम लाग्दा मात्रै सुचारु हुन्थ्यो, राती, बिहान र बेलुका नेटवर्क ठप्प हुने गरेको थियो । गाउँघरमा कुनै घटना घट्दा, विरामी पर्दा वा खबर आदान प्रदान गर्दा निकै समस्या हुने गरेको थियो । विद्युत पुगेदेखि तातोपानी ४, चन्दननाथ ८ र ९ का दर्जनौं बस्तीमा सञ्चारको पहुँच विस्तार भएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस