
मंसिर २०, २०८०
जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्तीको जनजागृती माद्यमिक विद्यालयमा बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । २०६२ सालमा बनेका तिन वटा भवन भूकम्पले भत्किएपछि माइनस तापक्रममा समेत खुला चौरमा पठनपाठन भइरहेको छ । २०७२ सालको भूकम्पले चर्किएका भवन गत कार्तिक २७ गतेको भूकम्पले भत्किदा पठनपाठनमा निकै कठिनाई भएको प्रधानाध्यापक गोपाल सुनारले बताएका छन । ‘जाजारकोट सँग सिमा जोडिएको ताम्ती क्षेत्रमा गत कातिक २७ गतेको भूकम्पले विद्यालयका भवन ध्वस्त भएका छन्, आज सम्म जेनतेन चौरमा पठनपाठन भयो, तर केहि दिन यता हिमपात भएपछि विद्यार्थी बिरामी पर्न थाले ।’ प्रअ सुनारले भने ।
माइनस तापक्रममा खुला चौरमा बसेर पढ्न नसकिने भएपछि अधिकांस विद्यार्थी विद्यालय आउनै छाडेको कक्षा १० मा अध्ययनरत छात्र टेकेन्द्र बुढाले बताए । ‘चिसो बढ्दै छ, हिमपात भइरहेको छ, चौरमा बसेर पढ्न सकिदैन, कतिपय विद्यार्थी त स्कुल आउनै छाडेका छन् ।’ छात्र बुढाले भने । जनजागृती मा वि मा दुई गाउँ ताम्ती र बारागाउँका गरि ३ सय ३४ जना विद्यार्थी छन् । कक्षा १ देखी १० सम्म पठनपाठन भइरहेको विद्यालयमा बस्ने कोठा नभएपछि अभिभावक समेत विद्यार्थीको भविष्यमाथि खेलडाब भएको भन्दै असन्तुष्ट बनेका छन् ।
विद्यार्थीलाई ज्ञान आर्जन गर्न विद्यालय पढाउँदा चिसोले धमाधम बिरामी भएर घर फर्कने गरेको स्थानीय भैर रावतले बताए । ‘बालवालिका घरबाटै विद्यालय जान मान्दैनन्, गएपनि कसैलाई ज्वरोले भेट्छ, कसैलाई रुघा लाग्छ, ।’ उनले भने । ‘विद्यालय नपठाउँ भविष्यको चिन्ता छ, पठाउँ, दण्ड दिएजस्तो हुन्छ, निकै हैरानी खेप्नु परेको छ ।’ अहिलेको वैज्ञानिक युगमा समेत विद्यार्थीलाई बस्ने कक्षा कोठा सम्म नहुनुले राज्यको शिक्षा प्रतिको दृष्टिकोण प्रष्ट हुने स्थानीय बताउन्छन् ।
चारकोठे पक्कि भवनमा कक्षा १ देखी ४ सम्मका विद्यार्थीलाई व्यवश्थापन गरिएको र बाँकी सबै कक्षाहरु चौरमा सञ्चालन भइरहेको विद्यालय व्यवश्थापन समितिका अध्यक्ष सेर बहादुर रावतले बताए । शिशु कक्षा पक्कि भवनको कोलियामा सञ्चालन गरिएको उनले जानकारी दिए । जीर्ण भवन भूकम्पले भत्किएपछि विद्यालयको अवश्था दयनीय भएको उनले बताए । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा हरिबिजोग हुँदा समेत सरोकारवालाको ध्यान नजानु लज्जाको विषय भएको उनले बताए ।
भेरिखोलाकै पुरानो शैक्षिक धरोहर जनजागृती मा वि को समस्या निकै ंसंवेदनशील भएको तातोपानी गाउँपालिका ७ का वडा अध्यक्ष तिलक बहादुर रावतले बताए । वडाको सिमति बजेटले ठूला समस्या समाधान गर्न वडा बाट सम्भव नभएको भन्दै वडा अध्यक्ष रावतले उपल्लो निकायले ध्यान दिनुपर्ने बताए ।
गत कार्तिक १६ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले दर्जनौं विद्यालयका पुराना भवन चर्किएको, तथा जनजागृती मा वि ताम्ती र दुर्गा मा वि लाम्रा भवन भत्किएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताए । अब पालिकामा विपद् व्यवश्थापन समितिको बैठक बसि विद्यालय पुननिर्माण का लागि प्रदेश र संघ सरकार सँग पहल गर्ने अध्यक्ष चौंलागाईले बताए ।
‘विद्यालय जस्तो संवेदनशील क्षेत्रमा जटिल समस्या देखा परेको छ, पालिकामा तत्काल छलफल गरि समस्या समाधानमा यथासिघ्र लाग्छौं । अध्यक्ष चौंलागाईले भने । तातोपानी गाउँपालिका को सिमाना जाजारकोट सँग जोडिएकोले भूकम्पले यो क्षेत्रका विद्यायल, घर चर्किएका छन् ।