१२ साउन,२०८०
जुम्लाकाे अन्नभण्डारका रुपमा परिचित पातारासी गाउँपालिकामा कृषि क्षेत्र उपेक्षामा परेकाे स्थानीयले गुनासाे गरेका छन्। आलु, मकै, फापर, काेदाे लगाएतका अन्न प्रशस्त फल्ने पातारासीमा कृषि क्षेत्र प्राथमिकतामा नपरेकाे स्थानीयकाे गुनासाे छ।
पातारासी ५ काे आर्थिक वर्ष २०७९/८०काे सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बिर्ख बुढाले वडा पालिकाले कृषि क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकेकाे बताए।
पातारासीकाे भविष्य कृषिमै निर्भर रहेकाेले पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनकाे जाेड छ। पातारासी ५ का वडा अध्यक्ष दत्त बुढाका अनुसार गत आवमा ४४ लाख ५० हजार लागतमा शिक्षा, स्वास्थ्य, सडक मात्रै समेटिएको छ। कृषि क्षेत्रमा बजेट नै नछुट्याएकाे पाइएकाे छ।
बस्तीस्तर बाट पुर्वाधार निर्माणकाे मात्रै माग हुँदा कृषि क्षेत्र छुटेकाे पातारासी ५ वडा अध्यक्ष दत्त बुढाले स्विकार गरेका छन्। पातारासी ५ लाई ओखर पकेट क्षेत्र घाेषणा गरिएकाे छ, तर बजेट विनियोजन नहुदा किसान मर्कामा परेका छन्।
वडा र पालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्ने पातारासी गाउँपालिका कृषि शाखा प्रमुख रुपक बुढा बताउन्छन्। कृषि प्रधान मुलुकमा कृषिमै बजेट नहुनु किसानका लागि दुर्भाग्य हुने उनकाे भनाई छ।
यस्तै पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले पालिका भित्र बन्ने संरचना दिगाे र मितव्ययि हुनुपर्ने बताएका छन्। बजेट सदुपयोग भएमात्रै पातारासी समृद्ध बन्ने उनकाे भनाइ छ। पातारासी ५ मा गत आवमा मुख्यमन्त्री र लापा कार्यक्रमकाे २८ लाख बजेटबाट जवा नदि नियन्त्रण, खेल मैदान निर्माण र सिंचाई का लागि पुर्वधार निर्माण गरिएकाे छ।
आवश्यकताका आधारमा याेजना छनाेट हुनुपर्ने पातारासीका प्रशासन प्रमुख दान बहादुर बिस्टले बताए। यस्तै बिहिवार नै पातारासी गाउँपालिका वडा नम्वर ६ काे समेत सार्वजनिक सुनुवाई सम्पन्न भएकाे छ।
पातारासी ६ भित्र सञ्चालन हुने कार्यक्रम तथा संरचना चुस्त दुरुस्त हुनुपर्ने स्थानीयकाे जाेड छ।