काकाकुल जुम्लाको ‘रारा’ गाउँ

पानी युद्धले मनमुटाव

जेष्ठ ११,२०८०
जुम्लाको रारागाउँ, प्राय माटोका छत भएका घर, लस्करै जोडिएका बाडाहरु, कमेरो र रातोमाटोले पोतिएका घरका भित्ताले रारालाई सुन्दर देखाइरहेका छन् । जुम्लाका विशाल बस्ती मध्यको एक हो, रारा गाउँ । यहि सुन्दर बस्ति रारा खानेपानी अभावले भने वर्षौं देखि अशान्त छ । गाउँको नाम नेपालकै ठुलो ताल रारा सँग मेल खाएपनि कहानी भिन्न छ ।
४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुल सुक्दै गए पछि गाउँमा पानी युद्ध चर्किदै गएको छ । ‘विश्वमा तेलको लागी लडाईँ भएको सुनेका हामी आफ्नो गाउँमा पानी युद्ध भोगिरहेका छौं, प्रत्येक दिन २÷३ जनाको झकडा भइरहन्छ, यो राराको विवशता हो ।’ स्थानीय नन्द बहादुर बुढाले भने ।
तिन दशक सम्म खानेपानीको अभाव झेलेको रारा गाउँमा सरकारी तथा गैरसरकारी संघ सँस्थाका प्रतिनिधि, जनप्रतिनिधिबाट महिला तथा बालवालिकालाई सरसफाईमा ध्यान दिनुपर्ने संदेश पुग्यो तर पानी पुगेन । सरसफाईका लागी सबै भन्दा बढी समस्या महिनावारी हुने महिला, जेष्ठनागरिक र बालवालिकालाई छ । स्थानीय दन्तकला बुढा राराको मरुभुमी सरहको चित्रलाई जुम्ली ठाडिभाका मार्फत यसरी चित्रण गर्छिन् ।
यहि हो मेरो रारा, मरुभुमी बनेको छ
कहिले देख्छौं धारा, कहिले गाउँमा पानी आउला

गाउँको मुनि तिला, सुँसाउदै बगिरहन्छ
रारा गाउँको लिला, काकाकुलको जीवन भयो

रारा गाउँको मुनि कर्णाली राजमार्गको जुम्ला खण्ड छ । अनि सडक मुनि तिला नदि अनवरत बगिरहेको छ । तर नदिमा पिउन योग्य पानी बग्दैन । रारा गाउँवरिपरि पर्याप्त जमिन छ, उर्भर भुमि पानी अभावले मरुभुमि सहर छ । घर वरिपरिका करेसावारी बाँझो छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ ।
‘उत्पादन हुने जमिन छ, तर सुख्खा छ, नदिको पानी खेर गइरहेको छ, सुख्खा जमिनमा उभिएर तल कलकल बगिरहेको तिला नदिलाई हेर्छाैं, अनि लाग्छ, “ल्हासामा सुन छ, कान मेरो बुच्चै” यो उखान हाम्रै लागि चल्तिमा छ । स्थानीय धन राज रावतले भने । कैयौं बालवालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन् । यो गाउँका विद्यार्थीलाई विहान र बेलुका आफ्नो गृहकार्य भन्दा घरमा पानी छ, कि छैन ? भन्ने पिरलो हुन्छ ।
गाउँमा भएका चार धारा दिनमा २ घण्टा खुल्छन् । १० हजार लिटरको ट्यांकि छ । राष्ट्रिय जनगणना २०७८ अनुसार रारामा २ सय ६८ घरधुरी र १, हजार ६ सय २६ जनसँख्या छ । रारा क्षेत्रमा पानीको मुहान छैन । रारा एक गाउँ एक वडा भएको बस्ति हो ।
संघीय खानेपानी आयोजना ले चालु आर्थिक वर्षमै खानेपानी समाधान गरिदिने बाचा गरेको तिला १ का वडा अध्यक्ष जँग बहादुर बस्नेतले बताए । रारा गाउँको इलाकामा बन जँगल नहुँदा पानीका मुहान छैनन् । छिमेकि वडा बाट पानी ल्याउनु बाहेक विकल्प नभएको उनले बताए । स्थानीय सरकार पाएको ६ वर्ष सम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय सन्तुष्ट भने छैनन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस