हिउँमाथि हिरा खोज्ने हिमाली माण्ठहरु

यार्सा सिजनमा पाटन भरिदै, गाउँ रित्तिदै

जुम्ला पातारासी गाउँपालिका को शङ्कर झरना बाट बग्ने खोला किनारमा भेटिएको ७ जनाको समुह पाटन उक्लदै छ । वर्षभरिको घरखर्च जुटाउन जुम्लाका गाउँगाउँबाट यार्सा टिप्न टिप्न पाटन पुग्नेहरुको लर्को छ । समुन्द्रि सतहबाट ३ हजार देखी ३ हजार पाँच सय मिटर उचाईमा पाइन्छ, हिमाली हिरा, अर्थात यार्सागुम्बा । जति उचाइमा पुग्यो त्यति हिड्न मुस्किल पर्छ, अक्सिजनको अभावले दम बढ्न थाल्छ । महिनौं सम्म पाटनमै बास हुने हुदा घोडा र खच्चरमा खाद्यान्न पाटन लिनुपर्ने स्थानीय धन बहादुर ऐडिले बताए । ‘हामी हिमालका मान्छे, हिमाली हिरा अर्थात यार्सा गुम्बा बाटै जिविका चलाउन्छौं, वर्षमा २ देखि ३ लाख सम्म आम्दानी हुन्छ ।’ उनले भने ।
नेपालको यार्सा चिन, भारत, हङकङ र तिब्बत तर्फ निर्यात हुन्छ । एक महिना पाटन बस्न सके वर्षभरिको खर्च जुट्छ । यार्सागुम्बा जडिबुटि मध्यकै महँगो हो । यार्सा अहिलेको मुल्य अनुसार प्रतिकिलो ८ लाख रुपैँया सम्म विक्रि हुने स्थानीय अन्दाज थामीले जानकारि दिए । केहि वर्ष यता यार्साको मुल्य घटेको छ । पहिले प्रति यार्सा १ हजार मा विक्रि हुन्थ्यो, अहिले ३ सय देखी ५ सय रुपैंयामा विक्रि हुन्छ ।
वैशाख अन्तिम साता स्कुले विद्यार्थी देखि महिला, युवा सबै पाटन पुग्छन । यार्सा टिप्नका लागि भिरपाखा चढ्दै हिउँ छिचोल्दै डुल्नु पर्ने हुन्छ । मौसम प्रतिकुल भएमा निकै जोखिम हुन्छ । हिँमपहिरो, हावाहुरी, चट्याङ, असिनाको डर हुने स्थानीय निर्माया थामीले बताइन । जुम्ला लगाएत माथिल्लो कर्णालीका नागरिक यतिबेला यार्सा संकलन गर्न पाटन पुगिरहेका छन् । जडिबुटि संकलन गरेर जीविकोपार्जन गर्ने गाउँबस्ती रित्तो बन्दैछन्, पाटन भरिभराउ हुदैछ ।
हिमाली ‘हिरा’ का नामले चिनिने यार्सागुम्बा टिप्न भने जोखिम मोल्नुपर्छ । माथिल्लो कर्णालीका जुम्ला, मुगु, डोल्पामा यार्सा पाइन्छ । जुम्लाको पानसय पाटनमा छिमेकि जिल्ला जाजरकोट बाट पनि यार्सा संकलनका खातिर आउने गरेको तातोपानी गाउँपालिका ७ सर्मीका विनोद अधिकारीले बताए । ६ महिना किरा र ६ महिना बनस्पति का रुपमा प्राण अस्तित्वमा राख्ने जडिबुटि नै यार्सा हो ।
यार्सा टिप्न गएकाहरु बेलाखबत हिमपरिरामा पुरिने गरेका छन् । सबैको जीवन पाटन बाट सकुशल फर्कदैन । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार गत २४ गते मुगु पाटनको हिम पहिरोमा परि जुम्ला पातारासीका ३ जनाको मृत्यु भएको छ । चोरी निकासीले एकातिर राजस्व छलि भएको छ, अर्कोतिर मानवीय क्षति समेत हुने गरेको छ । जुम्लाबाट यार्सा, सेतोचिनि, धुपि लगाएतका जडिबुटि गरि सरदर २० टन सम्म निर्यात हुने गरेको वन डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस