दृष्टिविहिन दम्पतीको ठडियो घर, आफ्नै घरमा कट्नेछ सुख-दु:ख

जातीय विभेदका विरुद्ध उभिएको जोडी

बैशाख २६, जुम्ला । जुम्लाको त्रिवेणीबाट पुर्व १० किलोमिटरको दुरिमा रहेको सर्मी गाउँछेउको साङ्ली पाटा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । सर्मी पुग्नेहरुका नयन साङ्ली पाटो एउटा सानो घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहिन दम्पती गोरिकला तिरुवा र मान बहादुर कुँवर को हो । उनिहरु भर्खरै भोटानचौर बाट सरेर यहाँ बसिरहेका छन् ।

यो दम्पतीका रमाएका मुहार देख्दा लाग्छ, यिनिहरु नै यस धर्तीका सबै भन्दा सुखी प्राणी हुन् । सँधै अरुको साहरामा बाँचेको यो दम्पती यो वर्षबाट आफ्नै घरको छानामुनि छ । गाउँ देखी ३ किमि दुर एकान्त क्षेत्र भोटानचौरमा गाउँलेको घरमा बसिरहेका उनिहरुलाई तातोपानी गाउँपालिका वडा नम्वर ७ ले आधारभूत सुविधा सहितको आवास निर्माण गरिदिएको छ ।उनिहरु सँग भोकै सुतेका कैयौं रातहरु छन्, अपमान सहेका दिनहरु छन् । चार वर्ष अघि मात्रै उनिहरुले अन्र्तजातीय विवाह गरे ।पे्रमले उनिहरुको जीवन उज्यालिएको छ । उनिहरुको जोडि ढुकुरको जोडिको रुपमा परिचित छन् । उनिहरु सँग भोकै सुतेका कैयौं रातहरु छन्, अपमान सहेका दिनहरु छन् । चार वर्ष अघि मात्रै उनिहरुले अन्र्तजातीय विवाह गरे ।

जातीय विभेदको जालो तोडेको योगदान कुनै समय कालमा मुल्यांकन हुने आशा व्यक्त गर्दै गोरिकलाले विकले भनिन्, ‘अव आफ्नै घरमा मर्ने धोको पुरा भएको छ, वडा कार्यालयले संरक्षण गरेकोमा खुसि छौं ।’२ लाख लागतमा खानेपानी धारा, शौचालय सहितको दुई कोठे घर निर्माण गरिएको तातोपानी ७ का अध्यक्ष तिलक रावतले बताए । ‘सामाजिक सुरक्षा भत्ताको सहारामा बाँचेको यो परिवार भोटानचौरमा अर्काको घरमा बस्दा निकै समस्या भएको थियो, हिमपात हुँदा र वर्षाको समयमा जोखिम भएकोले गाउँमै आवास निर्माण गरिएको हो ।’ अध्यक्ष रावतले भने । अहिले घर सँगै धारा र शौचालय पनि बनाइएको छ ।

जातीय विभेदका विरुद्ध उभिएको जोडी

पुर्खाले जग बसाएको छुवाछुतको छाना मुनि जातीय विभेदको जालो तोडेर समाजमा अन्र्तजातीय विवाहलाई स्थापित गर्नु ‘फलामको चिउरा चपाउनु’ सरह थियो । अहिले ३४ औं बसन्त मा प्रवेश गरेका दृष्टिविहिन मान बहादुर कुँवर ले वाल्यकालमै आमा बुवा गुमाए । दुइ वर्षको उमेरमा दुवै आँखाको ज्वती गुमाएका मान बहादुरले तेस्रो आँखा अर्थात ‘शिक्षा को आँखा’ ले दुनियाँ नियाल्ने रहर गरे । २०६० सालमा सिंजामा रहेको भैरव मा.वि. मा भर्ना भएर पढाई सुरु गरे तर कक्षा ७ मा पुगेपछि औपचारिक शिक्षा आर्जनमा पुर्णविराम लाग्यो । जन्म घर सर्मी बाट धेरै टाढा छ, सिंजा नराकोटको भैरव मा.वि. । त्यतिबेला अहिलेको जस्तो सवारी सुविधा पनि थिएन । घर बाट नराकोट पुर्याउने कोहि भएन । बुवा आमाको मृत्यु पछि मान बहादुरलाई खरानीको थुप्रोमा नयाँ जीवनको सुरुवात गर्नु सरह थियो ।‘दृष्टिविहिन हुनुको पिडाबोध त्यतिबेला भयो, जतिबेला एक दिनको पैदल यात्रा गर्न नसकि पढ्ने चाहनालाई तिलाञ्जली दिनु पर्यो । दृष्टिविहिन नभएको भए आज मेरो यो हाल हुने थिएन होला ।’ मान बहादुरले भने ।

घरमा एक्लो भएपछि मान बहादुर छिमेकी गाउँ ताम्ती मा गएर दिदिको घरमा बस्न थाले । बिना काम दिदिको घरमा बस्न अप्ठ्यारो महसुस हुनथालेपछि उनले झण्डै तिन सय घरधुरी रहेको ताम्ती गाउँको तिर्खा मेटाउने जिम्मेवारी काँधमा लिए, गाउँमा चार वटा पानिका धारा खोल्ने र बन्द गर्ने‘चौकिदार’ बने । उनले चौकिदारी गरेवापत वर्षमा चार क्विइन्टल अन्न पाउन थाले । जीन्दगी जसोतसो चलिरहेको थियो । गाउँमा मानवीय संवेदना नबुझ्नेका लागी मान बहादुर मजाकको पात्र बन्न पुगे ।फरक क्षमता भएकालाई सहयोग गर्नुको साटो मजाक मा उडाउने र अपमान गर्नेहरुको लागी मानवीय संवेदना ‘चरिको दुध’ जस्तै भयो । गिज्याउनहरुको भिडमा अपमानित महसुस गर्नथालेपछि ताम्ती गाउँ छोड्न मन लाग्यो । एक मनले भन्थ्यो, यस्तो मन होस्, जसले सबैको घृणा, अपमान पचाउन सकोस्, अर्को मनले भन्थो, कसैको बिगार नगरेर पनि अपमान र घृणा सहने हृदय पनि त छैन । ‘कस्तो जीन्दगी न समुन्द्रमा डुब्न सक्यो, न किनारा लाग्न सक्यो ।’ अहिले पनि मान बहादुर तितो विगत सम्झदै मनको आधा झण्डा झुकाउन्छन् ।

तिन वर्ष अघि उनले तिला ३ दानीबाडा बाट अन्र्तजातिय विवाह गरे । रुढीवादी समाजले कथित दलित सँग विवाह गरेको भन्दै मान बहादुर लाई गाली गर्न थाल्यो । ‘सुरुमा क्षत्रिको छोरोले किन दलित सँग विवाह गरेको भनेर व्यापक आलोचना भयो, अहिले विस्तारै विभेदको जालो तोडिदै गएको छ ।’ मान बहादुर ले भने । ‘अरु आँखाले देख्छन्, हामी मनले देख्छौं, सबै को अधिकार र कर्तव्य समान हुन्छ, हाम्रो मनले यहि देख्छ, जातीय विभेदको परम्परा भत्काएको भन्दै अहिले यहि समाजले हाम्रो योगदानलाई स्विकार गरेको छ ।’ गोरिकला तिरुवाले भनिन् । दृष्टिविहिन दम्पतीको आफ्नो घर भने छैन । स्थानीय काले कुँवरले तिन वर्ष देखी निशुल्क बस्न दिएका छन् । कोरोनाको बेला भोकै रहेको समाचार राजधानी दैनिकबाट प्रकाशित भएपछि जुम्लाका मनकारी युवा अमर विष्टले चार पटक खाद्यान्न सहयोग गरेका थिए । सामाजिक सुरक्षा भत्ताले मात्रै नपुग्ने भएपछि अहिले पनि भोकै बस्नुपर्ने बाध्यता रहेको गोरिकलाले गुनासो पोखिन् । उनले ठाडिभाका मार्फत मनको बह यसरी पोखिन्,

पाक्या फल चरिले खायो, काँचो फल रुखै छ
जहाँ सम्म जीन्दगी रहला त्यहाँ सम्म दुखै छ

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस