फिफा क्लब विश्वकपकाे फाइनलमा पिएसजी र चेल्सीकाे महाभिडन्त हुदै

अमेरिकामा जारी नयाँ ढाँचाको फिफा क्लब विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । जहाँ उपाधिका लागि युरोपका दुई शीर्ष क्लब फ्रान्सको पिएसजी र इंग्लिस क्लब चेल्सी आमनेसामने हुँदैछन् । आजको खेलबाट नयाँ ढाँचाको क्लब विश्वकपले पहिलो च्याम्पियन टिम पाउनेछ । अस्ति भर्खर मात्रै युरोपियन च्याम्पियन्स लिगको उपाधि सहित ४ उपाधि जितेर कीर्तिमानी सफलता प्राप्त गरेको पिएसजी आजको खेलमा चेल्सीलाई हराउँदै पाँचौं उपाधिका साथ यो सिजनलाई बिदा गर्ने योजनामा छ ।
स्पेनिस प्रशिक्षक लुइस इनरिकेको नेतृत्वमा रहेको पिएसजी यतिबेला युरोपको सबैभन्दा डरलाग्दो टिमका रूपमा उदाएको छ । सेमिफाइनलमा रियल मड्रिडलाई ४-० ले धुलाइ गरेर पिएसजीले उपाधिमा बलियो दाबेदारी दिइसकेको छ । च्याम्पियन्स लिगको फाइनलमा पनि पिएसजीले इटालियन इन्टर मिलानलाई ५-० को शानदार जित निकालेको थियो । सेमिफाइनलमा रियललाई खराब हार चखाएसँगै पिएसजी उपाधिको मुख्य दाबेदार बनेको छ । लगातार कठिन र बलिया प्रतिस्पर्धीलाई हराउँदै आएको पिएसजीले अब चेल्सीलाई पन्छाएर च्याम्पियन बन्ने अवसर छ।
पिएसजीले क्वार्टरफाइनलमा भने जर्मनीको बार्यन म्युनिखलाई हराएको थियो । त्यसपछि रियल मड्रिडलाई लज्जास्पद हार चखाउँदा आज चेल्सीसलाई पनि खराब हारको चोट दिँदै च्याम्पियन बन्ने दाउमा पिएसजी रहेको छ । क्रिएटिभ मिडफिल्डका कारण अट्याकिङ फुटबलमा खतरनाक बनेको पिएसजीको आँधीमय वेगलाई रोक्न आज चेल्सीलाई सजिलो हुनेछैन । चेल्सीले सेमिफाइनलमा ब्राजिलको क्लब फ्लुमिनेन्सलाई २-० ले हरायो भने अन्तिम आठमा पनि ब्राजिलकै क्लब पाल्मेइरासलाई हराएको थियो ।
फाइनल खेलमा तुलनात्मक रूपमा चेल्सीभन्दा पिएसजीलाई जितको बलियो दाबेदार मानिएको छ । यो सिजनको सफलता, उच्च मनोबल र र लयलाई हेर्दा पिएसजी चेल्सीभन्दा उपाधिका लागि ज्यादा दाबेदार रहनेछ, यसमा कुनै शंका छैन । आजको खेल मेटलाइफ रंगशालामा नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस